बाजुराको बूढीगंगा नगरपालिकामा आज नयाँ जनप्रतिनिधि चुन्न पुन: मतदान सुरू,मतदान स्थलमा सुरक्षा व्यवस्था कडा

सांकेतिक तस्वीर

काठमाडौं । बाजुराको बूढीगंगा नगरपालिकामा आज नयाँ जनप्रतिनिधि चुन्न पुन: मतदान सुरु भएको छ । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर आज मतदान गरिएको हो ।

 

 

 

बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । बूढीगंगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन्।

 

 

निर्वाचनलाई स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए ।

 

 

 

१० वटा मतदानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षक (इन्सपेक्टर)को नेतृत्वको टोली खटाइएको उनले बताए ।

 

 

 

जिल्ला प्रहरी कार्यालय बाजुराले शान्तिपूर्ण वातावरणमा चुनाव भइरहेको जानकारी दिएकाे छ ।सबै केन्द्रमा मतदान सुरु भइरहेको छ, अहिलेसम्म शान्तिपूर्ण वातावरणमा मतदान भइरहेकाे छ।

 

 

 

गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो ।

 

 

 

निर्वाचन आयोगले गरेको स्थलगत अध्ययनले पुनःनिर्वाचन गर्ने निष्कर्ष निकालेको थियो । निर्वाचन पुनः हुनुपर्ने माग गर्दै अदालतमा मुद्दासमेत परेको थियो । पछि सर्वदलीय सहमतिका आधारमा पुनः निर्वाचनको मिति तय गरिएको थियो ।

 

 

 

बूढीगंगाका केही वडाहरुमा कांग्रेस र एमालेका कार्यकर्ताहरुले बुथ कब्जा गरेर मतदान गरेको आरोप लागेपछि मतगणना हुन सकेको थिएन । स्थिति असहज भएपछि त्यहाँका निर्वाचन अधिकृत नै फिर्ता भएका थिए ।

 

 

 

 

पुनः निर्वाचन गर्नका लागि निर्वाचन आयोगले नयाँ निर्वाचन अधिकृतको रुपमा लक्ष्मण बहादुर कडायतलाई तोकेको छ ।

 

 

 

यसैगरी पहिलेका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलको सट्टा प्रकाशचन्द्र अधिकारीलाई बाजुराको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व पनि सरकारले फेरेको थियो ।

 

 

 

 

बाजुराका बडिमालिका नगरपालिका, बूढीनन्दा नगरपालिका, गौमुल गाउँपालिका, जगन्नाथ गाउँपालिका र खप्तड छेडेदह गाउँपालिका नेकपा एमालेले जितेको छ । नेपाली कांग्रेसले त्रिवेणी नगरपालिका, हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका जितेको छ ।