ओलीकै पदचापमा देउवा

काठमाडौँ । सर्वोच्च अदालतमा संवैधानिक परिषद्ले गरेका निर्णयविरुद्ध परेका मुद्दा विचाराधीन रहेकै बेला सरकारले संविधान र कानुनलाई चुनौती दिँदै संघीय संसद्मा संवैधानिक परिषद्सम्बन्धी संशोधन विधेयक ल्याएको छ ।

 

 

 

देशको प्रमुख र महत्वपूर्ण संवैधानिक निकायमा नियुक्ति प्रक्रिया आफूखुसी गराउन र सजिलो पार्न शेरबहादुर देउवा नेतृत्वको सरकारले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’ संसद्मा ल्याएको हो ।

 

 

 

विभिन्न संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्न प्रधानमन्त्रीसहित जम्मा तीनजना सदस्यको निर्णय मान्य हुनेगरी ऐन संशोधन गर्न विधेयक ल्याइएको हो ।

 

 

 

 

मौजुदा ऐनमा बहुमत र अल्पमत नभई पाँचजनाको अनिवार्य सहमतिमा नियुक्तिको सिफारिस गर्न सक्ने व्यवस्था छ।

 

 

संविधान र कानुनमा भएको व्यवस्थाविरुद्ध तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशलाई देउवा सरकारले विधेयकमा परिणत गर्दै राष्ट्रियसभामा दर्ता गरेको छ ।

 

 

 

 

तत्कालीन ओली सरकारले अध्यादेशमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग, निर्वाचन आयोग, राष्ट्रिय महिला आयोगलगायत विभिन्न संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गरेको थियो। त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएका छन्।

 

 

 

 

तत्कालीन सरकारले ल्याएको अध्यादेश देउवा सरकारले नै खारेज गर्ने निर्णय गरेको थियो। तर खारेज गरेको अध्यादेशलाई नै निरन्तरता दिनेगरी ऐन संशोधन विधेयक संसद्मै दर्ता गरिएको हो।

 

 

 

 

फरक यति हो, ओली सरकारले संसद् छलेर अध्यादेश ल्याएको थियो भने देउवा सरकारले संविधानलाई नै चुनौती दिँदै विधेयक बनाएर संसद्मा पेस गरेको हो।

 

 

 

सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको छिनोफानो नहुँदै देउवा सरकारले अध्यादेशलाई हेरफेरै नगरी विधेयकको रूप दिएको हो। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।