बाबुराम र उपेन्द्र दुवै पक्षको समानान्तर बैठक ,आजदेखि अलग-अलग बाटोमा

फाइल तस्वीर

काठमाडौं । फुटको संघारमा पुगेको जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष र डा.बाबुराम भट्टराई पक्षले आज अलग-अलग बैठक बोलाएका छन् ।

 

 

उपेन्द्र यादव पक्षले केन्द्रीय कार्यकारिणी समितिको बैठक आजदेखि पर्साको वीरगञ्जस्थित पुजन होटलमा बोलाएको छ । भोलिदेखि टाउन हलमा केन्द्रीय समितिको विस्तारित बैठक बस्ने यादव पक्षले जनाएको छ ।

 

 

भट्टराई पक्षले पनि आज नै काठमाडौंको जडिबुटीस्थित एक ब्यांक्वेटमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ । बैठक दुई दिनसम्म चल्ने छ ।

 

 

 

यादव र भट्टराईले पार्टीबाट अलग-अलग हुने समझदारी गरिसकेका छन् । सोही समझदारी अनुसार दुई पक्षका नेताहरुले समानान्तर बैठक बोलाएका हुन् । यससँगै यादव र भट्टराई एक अर्काबाट अलग्गिएका छन् ।

 

 

 

अध्यक्ष उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु बैठकमा सहभागी हुन वीरगञ्ज पुगिसकेका छन् ।

 

 

यादव पक्षले भट्टराई पक्षको बैठक विधान विपरीत भएको भन्दै आफ्नो बैठक आधिकारिक भएको दाबी गरेको छ ।

 

 

बाबुराम भट्टराई पक्षको बैठक स्थल । भट्टराई पक्षका नेता गंगानारायण श्रेष्ठले विस्तारित बैठकमा समसामयिक राजनीतिसँगै पार्टी नेतृत्वमा देखिएको समस्याका विषयमा छलफल गर्ने बताए ।

 

 

 

उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालीन संघीय समाजवादी फोरम र बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीबीच २०७६ साल बैशाख २३ गते एकता भएको थियो ।

 

 

 

पार्टी एकतापछि ‘समाजवादी पार्टी’ नामकरण गरिएको थियो । २०७७ साल बैशाख १० गते राष्ट्रिय जनता पार्टीसँग पुनः एकीकरण भई ‘जनता समाजवादी पार्टी’ बनेको थियो ।

 

 

तर यादव र भट्टराईबीच एक-अर्काको कार्यशैली, समानुपातिक नेतृत्व प्रणाली लगायतका विषयमा मतभेद हुँदै आएको थियो ।

 

 

 

मतभेद उत्कर्षमा पुगेपछि शीर्ष दुई नेताहरुले सहमतिमै अलग-अलग हुने समझदारी गरेका थिए ।

 

 

आजको भेलामा तत्कालीन राजपाका नेताहरू सहभागी हुने कि नहुने भन्ने विषयमा चासो छ ।पूर्वराजपाका नेताहरू महेन्द्रराय यादव, राजकिशोर यादव र अमृता अग्रहरी लगायतले विगतमा बाबुरामलाई साथ दिएका थिए ।तर, उनीहरू आजको बैठकमा सहभागि हुन्छन् कि भोलि वीरगञ्जमा देखिन्छन् भन्नेमा चासो छ ।

 

 

 

२३ वैशाख २०७६ मा बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादीबीच एकता भएको थियो । छोटो समयमै उनीहरू विभाजनका लागि तयार भएका छन् ।

 

 

 

बाबुरामले हालै जसपाबाट अलग भएको लोसपासँग एकता गरेर अघि जानेबारे छलफल चलाएको बताइन्छ । माओवादी पार्टी त्यागेर वैकल्पिक शक्ति निर्माणमा जुटेका बाबुरामको अभियान कुहिरोमा हराएको कागझैँ भएको छ ।

 

 

 

फेरि माओवादीमा फर्किने चर्चा भने बाबुरामले खारेज गर्ने गरेका छन् । तर उनले बेलाबखत प्रचण्डसँग बात भने मारिरहेका छन् । उपराष्ट्रपति नन्दकिशोर पुनको रोहबरमा उनीहरूको भेट हुने गरेको छ ।