वीरेन्द्र क्याम्पसमा गुरु पूर्णिमा एवम् भानु जयन्ती कार्यक्रम मनाइयो

चितवन । वीरेन्द्र बहुमुखी क्याम्पसमा स्नातकोत्तर तह समाजशास्त्र तथा अंग्रेजी चौथो सेमेस्टरको संयुक्त आयोजनामा गुरु पूर्णिमा तथा भानु जयन्ती भव्यरूपमा मनाइयो।
 
 
विद्यार्थी सिर्जना पन्तको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि क्याम्पस प्रमुख प्रोफेसर दयाराम पौडेल, विशिष्ट अतिथि ‌अंग्रेजी विभाग प्रमुख प्रोफेसर डा. कृष्ण प्रसाद पौडेल, समाजशास्त्र विभाग प्रमुख उप- प्राध्यापक केशवराज सापकोटा तथा अतिथिहरु सहायक क्याम्पस प्रमुख भानुभक्त कडेल, अतिरिक्त क्रियाकलाप प्रमुख उप-प्राध्यापक शरदचन्द्र काफ्ले, डा. अंगद गुप्ता, कमलकृष्ण खनाल, होमनाथ अधिकारी, राम रानाभाट,मुक्ति नाथ कडेललगायतका थिए।
 
 
 
उक्त कार्यक्रमको सञ्चालन आकाश गिरी र स्वागत मन्तव्य तेजेन्द्र कुँवरले गरेका थिए। समग्र कार्यक्रमको महत्वमाथि समाजशास्त्र अध्ययन तथा अनुसन्धान समाज नेपालका अध्यक्ष प्रेम प्रसाद कडेलले प्रकाश पारेका थिए।
 
 
 
 
 
कार्यक्रममा उपस्थित सम्पूर्ण गुरुहरुलाई अबिर र पुष्प गुच्छाले सम्मान गरिएको थियो। सम्पूर्ण गुरुहरुबाट रातो टिका लगाएर विद्यार्थीहरुलाई शैक्षिक प्रगति एवम् सुसंस्कृत समाज बनाउन आशिर्वाद प्रदान गरिएको थियो।
 
 
उक्त कार्यक्रममा नेथन बि सी, याकुब तामाङ्गको सांगितिक प्रस्तुति रहेको थियो। साथै मनोज विक्रम विष्टको गुरु पूर्णिमा कविता, प्रेम प्रसाद कडेलले सृंगारिक गजल, अञ्जली भुसालले गजल तथा तेजेन्द्र कुँवरले कविता मार्फत कवि भानुभक्तको सम्झना गरेका थिए।
 
 
कार्यक्रममा प्रमुख अतिथि क्याम्पस प्रमुख प्रोफेसर दयाराम पौडेलले यो गुरुपूर्णिमा ऐतिहासिक महत्व बोकेको सांस्कृतिक विषय हो भनी विद्यार्थीको उच्च शिक्षा हासिलको कामना गर्दै प्रशंसा गरेका थिए।
 
 
 
अंग्रेजी विभाग प्रमुख प्रोफेसर डा. कृष्ण प्रसाद पौडेल, समाजशास्त्र ‌विभाग प्रमुख केशवराज सापकोटाले गुरु पूर्णिमा मनाईदै गर्दा विद्यार्थीमा सिर्जनात्मक कार्यमा संलग्न रहेकोमा खुसी प्रकट गर्दै ज्ञानको ज्योति गुरुहरू भएको महात्म्य उल्लेख गर्नुभएको थियो।
 
 
कार्यक्रममा केक काटेर एक आपसमा माया साटेको दृश्य मनमोहक रहेको एक विद्यार्थीले बताएका छन्।