नेपाल-भारत सीमा बैठकले हराएका सीमास्तम्भ खोजी गर्ने निर्णय

काठमाडौं । जनकपुरमा नेपाल र भारतका सुरक्षा अधिकारीहरुको बैठकले हराइरहेका सीमास्तम्भ खोजी गर्ने निर्णय गरेको छ ।

 

 

शनिबार साँझसम्म बसेको नेपाल-भारत सीमा अधिकारीहरूको संयुक्त बैठकमा हराइरहेको सीमास्तम्भ खोजी गर्ने, सीमामा हुने अपराध, फेक करेन्सी, अतिक्रमण, लागूऔषध ओसारपसार नियन्त्रणलगायत विषयमा छलफल भएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिएका छन् ।

 

 

 

बैठकमा सीमाक्षेत्रमा हुने गरेका अपराधलाई पूर्णरूपपले नियन्त्रण गर्ने, लागूऔषध ओसारपसारको निगरानी तथा नियन्त्रण गर्ने र चेलीबेटी बेचबिखन नियन्त्रण तथा ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको सम्बन्धमा छलफल भएको पौडेलले जानकारी दिए ।

 

 

 

खुला सीमाका कारण दुवै देशमा भइरहेको आपराधिक क्रियाकलाप नियन्त्रणमा पनि सहकार्य गर्ने निर्णय भएको पौडेलले बताए ।

 

 

 

नेपाल र भारतका सुरक्षाकर्मीको बस्ने नियमित बैठकले दुई देशबीचको सम्बन्ध सुमधुर हुनुका साथै सुरक्षा समन्वयमा समेत सहयोग भइरहेको छ उनले भने ।

 

 

बैठकले सीमामा हुने अपराध कसरी नियन्त्रण गर्ने, लागूऔषध सम्बन्धी नियन्त्रण कसरी गर्ने, सीमा स्तम्भहरुको अवस्था कस्तो छ ?

 

 

मर्मत गर्नुपर्ने भए सम्बन्धित निकायमा पहल गर्ने, हराएको भए खोजी गर्नेलगायत विषयमा निर्णय भएको पौडेलले जानकारी दिए ।

 

 

नेपाल-भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्था थप सुदृढ बनाउने निणर्य समेत भएको छ ।

 

 

 

नेपाली सीमा अतिक्रमण भएको तथा पुल निर्माणमा भारतीय सुरक्षाकर्मीको तर्फबाट पुल निर्माणमा अवरोध भइरहेको गुनासो आउन थालेपछि मधेश प्रदेशसाग जोडिएका नेपाल-भारत सीमाक्षेत्रतर्फ सीमास्तम्भ खोजी तथा जीर्ण रहेकालाई मर्मत सम्भारसमेत गरिने उनले बताए ।

 

 

 

भारतीय पक्षले नेपाली सुरक्षा अधिकारीबाट हुादै आएको सहयोगको उच्च प्रशंसा गरेका थिए ।

 

 

 

बैठकमा नेपालको तर्फबाट धनुषा, महोत्तरी, सिरहा र सर्लाहीका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

 

 

भारततर्फबाट मधुवनी जिल्लाका जिल्ला अधिकारी अरविन्द कुमार वर्मा, विहार प्रहरी, एसएसबीलगायत सुरक्षाकर्मीहरु सहभागी थिए ।