सिभिल सहकारी ठगी प्रकरण: इच्छाराजसहित श्रीमती र दुइ छोरीविरुद्ध ५ अर्ब ६७ करोड ५५ लाख बढीको मुद्दा

काठमाडौं । सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभमार्फत  पूर्व अध्यक्ष इच्छाराज तामाङसहित उनको परिवारविरुद्ध सम्पत्ति शुद्धिकरणको अभियोगमा मुद्दा दायर गरिएको छ ।

 

 

 

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विहीबार इच्छाराजसहित उनको परिवार र सिभिल सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । विभागले उनीहरुविरुद्ध करिब ६ अर्ब रुपैयाँको बिगो दाबीसहित मुद्दा दायर गरेको हो ।

 

 

 

इच्छाराज तामाङ, उनको परिवार र तत्कालीन अध्यक्ष श्रेष्ठविरुद्ध ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ९७ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

 

 

 

 

विभागको अनुसन्धान अनुसार सहकारीबाट इच्छाराजले ३ अर्ब ३१ करोड ८५ लाख ९२ हजार ९ सय ४२ रुपैयाँ र उनकी श्रीमती सिर्जना शाक्यले एक अर्ब ३ करोड ५४ लाख ४३ हजार ४ सय ८७ रुपैयाँ ठगी गरेकी तथ्य फेला पारिएको छ ।

 

 

 

 

यसका साथै इच्छाराजकी छोरी प्रतिक्षा तामाङले ६ करोड २२ लाख ३३ हजार ९७ र अर्की छोरी प्रतिष्ठा तामाङले एक करोड ८९ लाख १८ हजार ६ सय ४६ रुपैयाँ ठगी गरेकी छन् ।

 

 

 

 

यसका साथै सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठले २६ करोड ६१ लाख ४५ हजार ५ सय ३० रुपैयाँ ठगी गरेका विभागको अनुसन्धानमार्फत् खुल्न आएको छ ।

 

 

 

विभागद्वारा जारी विज्ञप्तीमा तामाङले सहकारी संस्था प्रयोग गरी सहकारी संस्थाको नियम विधि र प्रक्रिया मिचेर एउटै समूहका कम्पनीहरुलाई सुरक्षण बापत् धितो नलिइ एउटै समूहलाई ५० प्रतिशत ऋण दिने गरेको उल्लेख गरिएको छ ।

 

 

 

 

यसका साथै सर्वसाधारण निक्षेपकर्तालाई मासिक, चौमासिक, वार्षिक रुपमा आकर्षक व्याज दरमा १२, १४, १५ र १७ प्रतिशत व्याज भुक्तानी गर्ने, निक्षेप गरे बापत सुनका सिक्का उपहार दिने विश्वास र प्रलोभन दखाइ निर्धारित समयमा साँवा र व्याज नदिइ ठगी गरेको पाइएको पनि उल्लेख छ।