निर्वाचन बहिष्कार आन्दोलन सशक्त बढाउन आवश्यक: का.वा.महासचिव सिपी गजुरेल

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)सहित चार कम्युनिस्ट पार्टीले निर्वाचन बहिष्कारलाई सशक्त रुपमा अगाडि बढाउने घोषणा गरेका छन्।

सो पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का कार्यवाहक महासचिव सिपी गजुरेलले नेपालमा संसदीय व्यवस्था पूर्णरुपमा असफल भइसकेको दावी गर्दै जनघात र राष्ट्रघात मात्र थोपर्ने संसदको औचित्य समाप्त भइसकेको बताउनु भयो ।

उहाँले नेपालमा यतिखेर लोकतन्त्र होइन, लुटतन्त्र मात्र रहेको चर्चा गर्दै अब नेपाली जनताले आफ्नो अमूल्य मत दिएर संसदवादी दलहरुलाई देश र जनता लुट्ने र राष्ट्रघात गर्ने लाइसेन्स दिन नहुनेतर्फ आम जनतालाई सचेत गराउनु भयो ।

राष्ट्रपतिले खारेज गरिदिएको राष्ट्रघाती नागरिकता विधेयकबारे चार पार्टीको धारणा सार्वजनिक गर्दै नेता गजुरेलले भन्नुभयो, “सत्तारुढ गठबन्धनले चुनावको मुखमा ल्याएको नागरिकता विधेयकमा रहेका राष्ट्रघाती प्रावधानहरुको हामीले विरोध गर्दै आएका हौं ।

हामीले राष्ट्रपतिलाई यो विधेयक प्रमाणीकरण नगर्न आग्रह गरेका थियौं । यो विधेयक एक हिसाबले खारेज भएको छ । यस अर्थमा राष्ट्रपतिको कदम स्वागतयोग्य छ । यो राष्ट्रहितमा छ , तर वास्तविक नेपाली नागरिक नागरिकताबाट बञ्चित हुनुहुन्न ।

उहाँले अगाडि भन्नुभयो, “सबैभन्दा बढी नागरिकताको समस्या तराई मधेसमा छ । त्यहाँका भूमिहिन दलित, किसान, सर्वहारावर्ग नागरिकताबाट बर्षौदेखि बञ्चित रहँदै आएका छन् । उनीहरुले निःशर्त रुपमा नागरिकता पाउनु पर्छ।

त्यसका लागि सरकारले तथ्यगत अध्ययन गर्नुपर्छ । लालपुर्जाको बाध्यकारी व्यवस्था हटाउनु पर्छ । उनीहरुलाई राज्यले घर घरमै पुगेर नागरिकता वितरण गर्नुपर्छ।

उहाँले वैवाहिक अंगीकृत नागरिकताको विषयमा भने रेसिप्रोकललाई आधार मानेर भारतीय चेलीहरु, जो नेपाली नागरिकसँग विवाह गरेर आउँछन्, उनीहरुलाई भारतले जस्तै सात बर्षे अवधि राखेर नागरिकता दिनुपर्ने पनि धारणा राख्नुभयो।

उहाँले कोभिड महमारी र डेंगुको प्रकोपप्रति सरकार उदासिन रहेको भन्दै नागरिकको स्वास्थ्यप्रति संवेदनशील बन्न पनि आग्रह गर्नुभयो।

संसदवादीहरुको चुनावी एजेण्डामा देशको स्वाधीनता, सार्वभौमिकता, जनताको अधिकार, जनजीविकाका सबाल तथा सामाज रुपान्तरणका सवाल भन्दा पनि विदेशी चेलीलाई विवाहकै भोलिपल्ट नागरिकता दिने विषय मात्रै चुनावी एजेण्डा बनाउने गरेको भन्दै आलोचना समेत गर्नुभयो ।

उहाँले नेपालमा संसदीय व्यवस्थाका तीनवटै अंग पूर्णरुपमा असफल भइसकेको र अहिले एकअर्कामा गाइजात्रा देखाइरहेकोतर्फ इंगित गर्दै यस्तो घृणित र नालायक व्यवस्थालाई टिकाउन गरिने चुनावमा जनताले भोट किन दिने रु त्यसको कुनै औचित्य नरहेकोमा पनि जोड दिनुभयो।

उहाँले निर्वाचन बहिस्कार आन्दोलनलाई यो संसदीय व्यवस्थाविरुद्धको आन्दोलनसँग जोडेर अगाडि बढाउने पनि बताउनु भयो ।

यो व्यवस्थाको विकल्प जनगणतन्त्र र वैज्ञानिक समाजवाद हुने भन्दै उहाँले यो व्यवस्था विरुद्धको आन्दोलनमा सम्पूर्ण छरिएर रहेका क्रान्तिकारीहरु एकजुट हुने बेला आइसकेको पनि बताउनु भयो ।

क्रान्तिकारी माओवादी र नेकपा (बहुमत)बीच पार्टी एकता प्रक्रिया अगाडि बढिसकेको जानकारी दिंर्दै नेता गजुरेलले संयुक्त मोर्चामा रहेका अन्य दुई पार्टी र बाँकी रहेका अन्य छरिएर रहेका क्रान्तिकारीहरुबीच पनि पार्टी एकता तथा ध्रुवीकरणका लागि कुरा भइरहेको जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा नेकपा (बहुमत)का नेता हेमन्तप्रकाश ओली सुदर्शन, नेकपा (मसाल) समन्वय समितिका नेता चिन्तामणि पौडेल, माओवादी कम्युनिस्ट नेपालका महासचिव रामनारायण पाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

पत्रकार सम्मेलनको सचालन मसालका नेता पौडेलले गर्नुभएको थियो भने संयुक्त वक्तव्यको वाचन तथा प्रस्तुति बहुमतका प्रवक्ता सुदर्शनले गर्नुभएको थियो । कार्यक्रममा चारवटै पार्टीका नेता कार्यकर्ताहरुसँग पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।