नवौैं राष्ट्रिय खेलकुद: आर्मी फुटबलको फाइनलमा

काठमाडौं। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको पुरुष फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी फाइनलमा प्रवेश गरेको छ।

पोखरा रंगशालास्थित फुटबल मैदानमा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १–० गोलले स्तब्ध पार्दै आर्मी फाइनलमा प्रवेश गरेको हो।

अत्यन्त प्रतिस्पर्धात्मक बनेको खेलमा परिवर्तित खेलाडी सुदिल राई नायक बन्दा आर्मीले जित हासिल गरेको हो। पहिलो हाफ बराबरीमा रोकिएको खेलको ५८ औं मिनेटमा सुदिलले गोल गर्दै आर्मीलाई अग्रता दिलाए।

उनी २४ औं मिनेटमा कप्तान भरत खवासको स्थानमा मैदान प्रवेश गरेका थिए। गण्डकीलाई खेलको शुरुवातदेखि दबाबमा राखेको आर्मीले पटक पटक पाएको अवसरलाई उचित सदुपयोग गर्न नसक्दा १–० गोल मै चित्त बुझाउन बाध्य भएको हो।

आर्मी समूह ‘सी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो। आर्मीले लिग चरणको पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४–१ गोलले र दोस्रो खेलमा पुलिस क्लबलाई २–० गोल अन्तरले हराएको थियो।

समूह ‘डी’ विजेता सुदूरपश्चिम र समूह ‘बी’ विजेता एपिएफबीच दोस्रो सेमिफाइनल खेल मंगलबार नै हुँदैछ।