कांग्रेसको चुनावी सङ्कल्प पत्र सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशका लागि पार्टीको चुनावी सङ्कल्पपत्र (घोषणापत्र) सार्वजनिक गरेको छ।

कांग्रेस पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमार्फत सो सङ्कल्पपत्र (घोषणापत्र) सार्वजनिक गरेका हुन।

घोषणापत्रमा ‘संविधानको रक्षा, स्थायित्व र समुन्नतिसहितको आधार नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने मूल नारा रहेको छ।

साथै समसामयिक राजनीति, निरन्तरतामा नवीनता, सम्मुन्नत नेपालको मार्गचित्रलगायतका विषयवस्तु समेटिएको छ।

सङ्कल्पपत्र तयारी समितिका संयोजक विश्वप्रकाश शर्माले बिपीकालीन दस्तावेजदेखि स्थानीय तहसम्म पार्टीका तर्फबाट घोषणा गरिएको विषयवस्तुका आधारमा घोषणापत्र तयार गरिएको बताए।

शनिबार सार्वजनिक चुनावी घोषणापत्रमा कांग्रेसले सूचनाप्रविधि, उद्योग, पर्यटन, निर्माण यातायातलगायतका क्षेत्रमा वार्षिक साढे २ लाख नयाँ रोजगारी सिर्जना गर्ने संकल्प गरेको हो ।

नेपाल श्रमशक्ति सर्वेक्षणको आँकडाअनुसार नेपालका करिब ७० लाखभन्दा बढी जनसंख्या विभिन्न रोजगारी र स्वरोजगारमा आवद्ध छन् भने वार्षिक पाँच लाख हाराहारी जनशक्ति श्रम बजारमा आउने गरेका छन् । तर, २०७७/७८ मा दर्ता भएका २०३ नयाँ उद्योगले जम्मा ११ कजार ८३३ रोजगारी मात्र प्रस्ताव गरेको छ भने लोकसेवा आयोगले तीन हजार ७५४ जनाको मात्र विज्ञापन गरेको छ ।

लाखौंको संख्यामा रोजगारी सिर्जना गर्न ठूलै संरचनात्मक पहल चाहिने भन्दै कांग्रेसले आर्थिक क्षेत्रको विद्यमान नीतिगत, कानुनी र प्रक्रियागत अड्चनमा व्यापक नयाँ चरणको ओम्निवस सुधार गर्दै न्यूनतम ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ ।

उसले उद्योग, निजी क्षेत्रका छाता संगठन, तीन तहको सरकार र सीटीईभीटीको सामूहिक पहलमा अप्रेनटिससीप कार्यक्रम र रोजगारी सिर्जनाका लागि बजारले मागेको युवाले रोजेको तरुण सीप वृत्ति कार्यक्रम ल्याउने बताएको छ ।