विचौलियाको पछि नलाग्नु,सबै काम अनलाइनबाटै हुन्छः श्रम मन्त्रालय

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारसँग सम्बन्धित सबै सेवा अनलाइन प्रणालीमा आबद्ध गरिएको बताउँदै विचौलियाको पछि नलाग्न सेवाग्राहीलाई अनुरोध गरेको छ।

बुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले स्वदेश तथा विदेशमा रहेका सेवाग्राहीहरु वैदेशिक रोजगार विभाग वा वैदेशिक रोजगार कार्यालयमा भौतिक रुपमा उपस्थित हुन नपर्ने गरी व्यवस्था मिलाइएकाको जानकारी दियो।

कार्यालयमा भीडभाड गर्ने र अनावश्यक समस्या सिर्जना गर्ने काममा संलग्न नहुन तथा सेवा प्रवाहका क्रममा विचौलिया वा अन्य कुनै व्यक्तिको प्रभावमा नपर्न मन्त्रालयले आग्रह गरेको छ।

हाल सेवाग्राहीको नाममा विचौलिया कार्यस्थलमा प्रवेश गरी कर्मचारीलाई कार्यसम्पादनमा असर गर्ने, विधि र प्रक्रिया नमिलेका काम गर्न अनेकन दबाब दिने, प्रलोभनमा पार्न प्रयत्न गर्ने र आफ्नो निहित स्वार्थ पूरा नहुँदा कार्यालयको काम कारबाहीप्रति नकारात्मक टिप्पणी गर्ने प्रवृत्ति बढेको मन्त्रालयले उल्लेख गरेको छ।

कानूनबमोजिम लाग्ने दस्तुर अनलाइन प्रणालीबाटै भुक्तानी गर्ने व्यवस्था गरिएको जनाउँदै मन्त्रालयले वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार कार्यालयबाट हुने सेवा प्रवाहको निरन्तर प्रणालीमार्फत तथा स्थलगतरुपमा अनुगमन भइरहेको पनि जनाएको छ।