कर्णालीका ६ जिल्लाको मतपेटिका संकलन गर्न अझै बाँकी, २ वटा क्षेत्रको केही समयमा मतगणना सुरू हुने

काडमाडौं। कर्णालीका कतिपय जिल्लाहरूमा मतपेटिका संकलन गर्न बाँकी रहेको छ।आइतबार नै मतदान सम्पन्न भए पनि भौगोलिक कठिनाइ र सडकको पहुँच नपुगेका हिमाली तथा पहाडी जिल्लाका केही मतदान स्थलबाट मतपेटिका गणनास्थलसम्म पुर्‍याउन सकिएको छैन।

डोल्पा, हुम्ला, मुगु, जाजरकोट, कालीकोट, रूकुम पश्चिममा मतपेटिका संकलन गर्नै बाँकी छ।डोल्पाका २२ वटा मतदानस्थलबाट मतेपटिका ल्याउन हेलिकप्टर प्रयोग गर्नुपर्ने भएकाले आज बेलुकासम्म संकलन गरिने जिल्ला निर्वाचन अधिकारी रामबहादुर शाक्यले बताए।

हुम्लामा पनि केही स्थानका मतपेटिका ल्याउन हेलिकप्टर नै प्रयोग गर्नुपर्ने भएको छ।जिल्ला निर्वाचन अधिकारी श्याम रानाका अनुसार अहिलेसम्म हेलिकप्टर पुगेको छैन।

उनका अनुसार जिल्लाका नाम्खा गाउँपालिका, सर्केगाड, चंखेली, ताँजाकोट र अदानचुली गाउँपालिकाका केही स्थानबाट मतपेटिका संकलन गर्न बाँकी छ।

हुम्लामा पनि आज बेलुकासम्म मतपेटिका संकलन गरिने रानाले जानकारी दिए।

मुगुका ग्रामीण क्षेत्रमा सडक नपुगेको र मतपेटिका बोकेर ल्याउनुपर्ने भएकाले ढिलाइ भएको जिल्ला निर्वाचन अधिकारी विष्णु न्यौपानले जानकारी दिए।

‘हेलिकप्टरबाट मतपेटिका ल्याउने भनिए पनि अन्तिममा बोकेर पैदल ल्याउनुपर्ने भयो,’ उनले भने, ‘खत्याड गाउँपालिका वडा नम्बर १० र ११, सोरु गाउँपालिकाका ९, १० र ११ वडाहरूमा गाडी चल्दैनन्।’

कालीकोटका जिल्ला निर्वाचन अधिकारी धनबहादुर मल्लका अनुसार जिल्लाका चालझरना गाउँपालिका, पलाँता गाउँपालिका, रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र नहरीनाथ गाउँपालिकाका केही स्थानबाट मतपेटिका ल्याउन बाँकी छ।

सल्यान र दैलेख–१ को मतगणना भने सोमबार ११ बजेदेखि सुरू हुने भएको छ।कर्णालीका १२ वटा प्रतिनिधिसभा र २४ वटा प्रदेशसभा सदस्यका लागि मतदान भएको छ।

१० लाख ८ हजार ४०३ जना मतदातामध्ये प्रदेशभर ६० प्रतिशतका हाराहारीमा मत खसेको छ।कर्णालीका एउटाबाहेक सबै मतदानस्थलमा मतदान सम्पन्न भएको छ।

सुर्खेतको सिम्ता गाउँपालिका–६ मा रहेको सिम्ता बहुमुखी क्याम्पसमा रहेको मतदानस्थलमा मतदान स्थगित भएको छ।

उक्त मतदान स्थलमा प्रदेश सभातर्फको मतपत्रको विषयमा विवाद भएपछि मतदान स्थगित भएको हो। उक्त केन्द्रमा मतदान कहिले हुने भन्ने टुंगो छैन।