लिंक इन्टरनेशनल मेनपावरमा छापा, मोटो रकम असुली गर्दै आएको खुलासा

काठमाडौं । मेनपावर कम्पनीको आवरणमा ठगी गर्दै आएको लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिसमा वैदेशिक रोजगार विभागले छापा मारेको छ।

सरकारले निःशुल्क वा न्यूनतम शुल्क तोकेको खाडीका ६ मुलुक र मलेसियामा समेत मोटो रकम असुलेर कामदार पठाउने गरेको खुलासा भएपछि विहीबार विभागका डाइरेक्टर गोपाल तिमिल्सिना र अफिसर शम्भु कटुवालको टोलीले उक्त मेनपावर कम्पनीमा छापा मारेको विभागले जनाएको छ।

छापा मार्ने क्रममा लिंक इन्टरनेशनल मेनपावर कम्पनीबाट केही महत्वपूर्ण कागजात समेत लगिएको र आवश्यकता अनुसार बयान लिन सकिने विभागीय स्रोतले जानकारी दिएको छ।

मेनपावरका सञ्चालक कमल काफ्लेले खाडी र मलेसिया जाने कामदारसँग प्रतिव्यक्ति साढे दुई लाखदेखि तीन लाखसम्म असुल्दै आएका थिए।

त्यतीमात्र नभएर त्यत्रो मोटो रकम बुझाएर खाडी पुगेकाहरुले त्यहाँ भनेअनुसारको पारिश्रमिक नपाउनुका साथै सेवा–सुविधाका सवालमा समेत शोषणमा पर्नु परेपछि फिर्ता आएका उनीहरुले बुझाएको रकम आश मार्नु परेको अवस्था थियो।

यस्तै–यस्तै गुनासा बढ्दै जाँदा विभागले लिंक इन्टरनेशनल मेनपावर कम्पनीमा छापा हानेको हो । विभागले छापा मारेको घट्नाले काफ्लेलाई धर्मसंकटमा पारेको छ ।

विभाग स्रोतका अनुसार पूर्व स्वीकृती नै नलिएर यूरोपको पोर्चुगल पठाउने भन्दै थुप्रै व्यक्तिसँग एडभान्स बापत केही रकम र राहदानी समेत लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिसका सञ्चालक कमल काफ्लेले लिएर लामो समयदेखि अलमल्याउँदै आएको गुनासो पनि सार्वजनिक भइरहेको छ।

जापान, साइप्रस र क्यानडा पठाउने भनेर समेत काफ्लेले कयौं व्यक्तिबाट रकम असुलेको पाइएको छ ।

केही समयअघि पोर्चुगल पठाउने भन्दै रकम असुल गरेकै कारण लिंक इन्टरनेशनलका सञ्चालक काफ्लेकै नातेदार समेत रहेका सुजन भट्टराई पक्राउ परेर हाल थुनामा छन् । एजुकेशनल कन्सल्टेन्सी खोलेर बसेका भट्टराईले पोर्चुगल पठाउने भन्दै युवाहरुसँग मोटो रकम असुल्दै आएका थिए ।

आम्दानीमा भागवण्डा गर्ने गरी लिंक इन्टरनेशनलका काफ्ले र भट्टराईले अवैद्यरुपमा पोर्चुगल पठाउने भन्दै रकम असुलेको अवस्थामा भट्टराई पक्राउ परेर कारवाही भोग्दै गरे पनि काफ्ले भने मेनपावरकै आवरणमा जोगिइरहेका छन्।

छापा हान्न गएको वैदेशिक रोजगार विभागको टोलीले यस विषयमा पनि सोधपुछ गरेको थियो । तर, काफ्ले आफूमाथि अनावश्यक लान्छना लगाइएको जवाफ दिएका थिए ।

त्यसैगरी, भारतीयले सञ्चालित लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिसमाथि उही नाम, एकै काम र हुवहु लोगोका विषयमा पनि विभागले प्रश्न उठाउने भएको छ ।

भारतमा वैदेशिक रोजगारीको विषयमा सुक्ष्म अनुगमन भइरहने भएकाले भारतीय दलालले नेपालको मेनपावर कम्पनीलाई प्रयोगमा लिएर आफ्नो धन्दा सञ्चालन गर्न चाहेको अवस्थालाई लिंक इन्टरनेशनलका कमल काफ्लेले सहज बनाइदिएका हुन् ।

नाइल ओभरसिजलाई भारतको मुम्वईमा प्रधान कार्यालय रहेको लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिसको नेपालको शाखा जस्तै गरी काम गर्न मन्जुर भई सञ्चालक कमल काफ्लेले लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस नै नाम परिवर्तन गरेका हुन्।

पछिल्लो समय भारतीय मानवतस्करले खोजेको डिमाण्डमा आपूर्ति गरिएका नेपाली कामदार यतीबेला विभिन्न ठाउँमा समस्यामा परेका छन् । कतिपयले नेपालबाट गएदेखिकै पारिश्रमिक पाएका छैनन भने कोही आधापेट खाएर समेत डुयूटी गर्न बाध्य छन् ।

यता, लिंक इन्टरनेशनल मेनपावर कम्पनीका सञ्चालकले भने विभागले छापा हानेको विषयलाई नियमित अनुगमन भन्दै नाक जोगाउने प्रयत्न गरिरहेको अवस्था छ।

यहीबीच, वैदेशिक रोजगार विभागबाट प्राप्त जानकारी अनुसार लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिसका सञ्चालक कमल काफ्लेले आफ्नै गृह जिल्ला जिल्ला निवासी श्रम तथा सामाजिक मन्त्रालयका सचिव एकनारायण अर्यालको समेत असान्दर्भीक अवस्थामा नाम लिने गरेको आरोप लाग्दै गर्दा मन्त्रालयकै दबाबमा पनि अनुगमन गर्नु पर्ने अवस्था निम्तिएको हो ।

सचिव अर्यालको नाम काफ्लेले किन र के–कस्तो विषयमा जोडेको हो भन्ने जानकारीमा आइसकेको छैन। नेपाली काँग्रेस निकट वैदेशिक रोजगार व्यवसायी संघका महासचिव समेत रहेका लिंक इन्टरनेशनलका सञ्चालक काफ्ले विभागमा अन्य मेनपावर कम्पनीका उजुरबाजुर र उनीहरुका गुनासो सम्बोधन गर्ने गराउने कार्यमा अग्रसर देखिन्छन् । यही कारण पनि उनको विभागमा प्रभाव रहेको बताइन्छ ।

आवुधावीस्थित फराह कन्ट्र्याक्टीड एण्ड जनरल ट्रान्सपोर्ट कम्पनीमा कार्यरत ६ नेपाली श्रमिकले त्यहाँ पुगेर काम थालेदेखिकै पारिश्रमिक नपाएको गुनासो सार्वजनिक भइरहेको अवस्थामा लिंक इन्टरनेशनल मेनपावर कम्पनीमा अनुगमन हुनुले वैदेशिक रोजगार विभाग कारवाहीका लागि एग्रेसिप भएको अनुमान लगाउन सकिन्छ ।