नेइमारका फ्यानहरूलाइ दुखद खबर: विश्वकप समूह चरणका बाँकी दुई खेल नखेल्ने

काठमाडौं। कतारमा भइरहेको विश्वकप फुटबलमा ब्राजिलियन स्टार फरवार्ड नेइमारले समूह चरणका बाँकी दुई खेल गुमाउने भएका छन्।

सर्बिया विरुद्ध पहिलो खेलमा घाइते भएका नेइमारले समूह जीमा बाँकी दुई खेल गुमाउने भएका हुन्। नेइमारको एंकलमा चोट लागेपछि उनलाई ७९औं मिनेटमा एन्टोनीले रिप्लेस गरेका थिए।

चार्लिसनको दुई गोलमा ब्राजिलले सर्बियालाई पहिलो खेलमा २-० ले हराएको थियो। नेइमारसँगै उक्त खेलमा राम्रो प्रदर्शन गरेका डानिलोले पनि बाँकी दुई खेल गुमाउने भएका छन्।

जी ग्लो र टीएनटी स्पोर्ट्सले नेइमार र डानिलोले समूह चरणका स्वीट्जरल्याण्ड र क्यामरुन विरुद्धको खेल गुमाउने जनाएको छ।

ब्राजिलियन क्याम्पमा भने दुवै खेलाडी नकआउट चरणका लागि मैदानमा फर्कने विश्वासमा छ। त्यसका लागि पहिला ब्राजिलले समूह चरण पार गर्नुपर्ने हुन्छ।

मार्काले भने नेइमारले स्वीट्जरल्याण्ड विरुद्ध हुने खेल गुमाउने र क्यामरुन विरुद्ध खेल खेल्नेमा शंका रहेको जनाएको छ। यदी स्वीट्जरल्याण्ड विरुद्धको खेलपछि नै ब्राजिलले क्यामरुन विरुद्धको खेलमा नेइमारलाई रेस्ट पनि दिन सक्ने मार्काले जनाएको छ।