बाजुरामा अनेरास्ववियुका नेता चेतनको हत्या आरोपमा दुईजना पक्राउ

काठमाडौं। बाजुराको त्रिवेणी नगरपालिका–७ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को भातृ संगठन अनेरास्ववियुका सचिवालय सदस्य चेतन ऐडीको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

मङ्सिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएपछि कांग्रेसका कार्यकर्ताले कुटेर ऐडीको हत्या गरेको एमालेका स्थायी समिति सदस्य कर्ण थापाले दाबी गरेका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका–७ घर भएका २७ वर्षीया रुपा चौधरी ऐडी र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर छन्।

त्रिवेणी नगरपालिका–७ मालाकोटका ३२ वर्षीय चेतनमाथि सामूहिक रूपमा बाजपानी र घरमा कुटपिट भएको थियो। कुटपिट हुँदा गम्भीर घाइते भएका ऐडीको अछाम बयलपाटा स्थित न्याय हेल्थ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर–७ स्थित नाटेश्वरी मतदान केन्द्रमा चेतना एमालेको तर्फबाट मतदान प्रतिनिधि खटिएका थिए।

निर्वाचनकै दिन झडपको क्रममा एकजना प्रहरीले चलाएको गोली लागेर २६ वर्षीय सन्दीप ऐडीको घटनास्थलमा मृत्यु भएको थियो। सहमति नहुँदा मृतक दुवैको शव आफन्तले जिम्मा लिएका छैनन्।