बाजुरामा कांग्रेसका उम्‍मेदवार बद्री पाण्डे २ हजार भन्दा बढी मतान्तरले अगाडि

काठमाडौं । बाजुरामा प्रतिनिधि सभामा नेपाली काँग्रेसका उम्मेदवार बद्री प्रसाद पाण्डेको अग्रता कायमै रहेको छ। नेपाली काँग्रेसका बद्रीप्रसाद पाण्डेको ६ हजार ५ सय ३५ मत रहेको छ भने नेकपा एमालेका कर्णबहादुर थापाको ४ हजार ४ सय २१ मतले पछ्याउँदै छन्।  बद्री प्रसाद पाण्डेले  कर्ण थापासँगको मतान्तर २ हजार पुर्‍याएका छन्।

 यसअघि बाजुराको हिमाली गाउँपालिकाका चार वटा मतदान केन्द्रका मतगणना गर्ने क्रममा मतदान अधिकृतले उठाएको मुचुल्कामा भन्दा ३० मतपत्र बढी भेटिएपछि विवाद भएर गणना रोकिएको थियो।

मतगणना रोकेर भएको छलफलमा बाकसमा भेटिएका सबै मत गन्ने सहमति भएपछि मतगणना सुरु गरिएको थियो।

मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले मुचुल्काअनुसार दुई हजार ३१२ मतपत्र हुनुपर्नेमा गणनाका क्रममा दुई हजार ३४२ मतपत्र भेटिएपछि दलका प्रतिनिधिको आग्रहमा गणना रोकेको जानकारी दिए।

४ मंसिरमा भएको निर्वाचनमा कांग्रेसले बुथ कब्जा गरेको भन्दै नेकपा एमालेले पुन: मतदानको माग गरेको थियो। तर बुधबार निर्वाचन आयोगले पुन: मतदान नगर्ने निर्णय गरेको थियो।