अतिक्रमण र ज्यादतीका विरुद्ध अखिल(क्रान्तिकारी)ले आज भारतीय दुताबास अगाडि विरोध प्रदर्शन गर्ने

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले महाकालीमा गरेको अतिक्रमण र ज्यादतीकाविरुद्ध आज (बुधबार) भारतीय दुताबास अगाडी विरोध प्रदर्शन गर्ने  भएको छ।

संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले आज बुधबार लैनचौरस्थित भारतीय दुताबास अगाडि विरोध प्रदर्शन गर्ने बताएका छन्।  

महाकाली सन्धिका कारण सीमा क्षेत्रका बासिन्दाले वर्षेनि सास्ती खेप्नु परेको छ । त्यसमा दार्चुला र कंचनपुर जिल्लाले बढी क्षती बेहोरेका छन्।

दार्चुलाको उत्तर पश्चिमी सिरानीमा भारतीय सैनिक परेड खेलेर बसेका छन् । महाकाली तर्दा हालसम्म दर्जनौ दार्चुलावासी महाकालीमा विलिन भएका छन्।

जयसिंह धामी तुइनबाट महाकाली तर्दैगर्दा भारतीय सुरक्षाकर्मीको सिकार बनेका छन् । केही दिन अघि भारतले सडक खन्दा आएको ढुंगा लागि दार्चुलाका एकजना स्थानीय बालकको ज्यान गएको छ ।

भारतले धौलीगंगा बाँधको ढोका खोल्दा आएको अकल्पनीय बाढीले दार्चुला खलंगा पूरै बगेको धेरै भएको छैन । बाढी पछि महाकाली पूरै नेपालतिर पसेको छ।

महाकाली नेपालतिर सरेसँगै भारतले नदी च्याप्दै नेपालतिरै च्यापेर तटबन्ध बनाइरहेको छ । सो क्रममा भएको स्थानीय दार्चुलाबासीले गरेको प्रतिकारका कारण सदरमुकाम तनावग्रस्त छ ।

भारतका कारण नदी नेपालतिर धकेलिदै छ । सीमा मिचिदैछ, सारिदैछ । दार्चुलावासी ज्यान गुमाइरहेका छन्। दिनहूँ सास्ती खेप्न बाध्य छन्। सिमाका नेपालीले भारतीय ज्यादतिको प्रतिरोध गरिरशेका छन् । तर सरकारले भने विरोधमा बोल्ने साहस जुटाउन सकिरहेको छैन।