राजस्व कार्यालयका कर्मचारी हुँ भन्दै रकम असुली गर्ने ८ जना पक्राउ

काठमाडौं। आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौं भन्दै केही व्यक्तिहरुले काठमाडौंको बसपार्क क्षेत्रका होटल र पसलबाट रकम असुल गरेको पाइएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आफूहरु आन्तरिक राजस्व कार्यालय लाजिम्पाटको कर्मचारी भएको भन्दै होटल, रेष्टुरेन्ट र पसलबाट विभिन्न परिणाममा रकम असुल गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको हो।

उनीहरुले काठमाडौंको बसपार्क क्षेत्रका होटल, रेष्टुरेन्ट, पसल र फुटपाथ पसलबाट समेत गरी ५ लाख रुपैयाँ भन्दा बढी रकम असुलेको पाइएको छ।

पक्राउ पर्नेमा पूर्वी नवलपरासीका मीनबहादुर बिक, पाँचथरकी सिर्जना भट्टराई, अछामकी सागर जंग लुहार, सिन्धुपाल्चोककी प्रमिसा तामाङ, अछामकी दूधकला विक, नुवाकोटकी अञ्जना तामाङ र कञ्चनपुरका राजीव विष्ट र डेविड धामी रहेका छन।

उनीहरुले आन्तरिक राजस्व कार्यालयको कर्मचारीले जस्तै पोशाक लगाउनुका साथै परिचय पत्र पनि बोकेका प्रहरीले जनाएको छ।

स्थानीय व्यवसायीले शंका लागेर प्रहरीलाई खबर गरेपछि २३ मंसिरको साँझ प्रहरी वृत्त बालाजुको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेका राजीव विष्टको डेराबाट आन्तरिक राजस्व कार्यालयको जस्तै स्टाम्प, लेटरप्याड, रसिद र परिचयपत्र भेटिएको प्रहरीले बताएको छ।

त्यस्तै डेविड धामीको कोठाबाट पनि आन्तरिक राजस्व कार्यालयको जस्तै रसिद, लेटरप्याड, परिचयपत्र र परिचयपत्र झुण्याउने डोरी बरामद भएको प्रहरीले जनाएको छ ।