एमालेका नवनिर्वाचित सांसदहरुको भेला आज हुँदै

काठमाडौं । नेकपा (एमाले) ले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका नवनिर्वाचित सांसदहरुको भेला आज मंगलबार बोलाएको छ।एमाले जनताको रोजाइको पहिलो पार्टी” नाम दिएर भेला बोलाइएको हो।

मंगलबार दिउँसो १२ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानका निर्वाचित सांसदलाई संसदीय भूमिका प्रशिक्षित गराउनका लागि भेला आयोजना गरेको एमालेले जनाएको छ।

पार्टीले संघीय संसद् तथा प्रदेश सभामा खेल्नुपर्ने भूमिकाका बारेमा नवनिर्वाचित सांसद र उम्मेदवारलाई जानकारी गराइने छ।

भेलामा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताले सम्बोधन गर्नेछन् । नेकपा एमालेले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ४४ वटा र समानुपातिक ३४ गरी कुल ७८ सिट प्राप्त गरेको छ । प्रदेशमा प्रत्यक्ष ९१ र समानुपातिक ७० सिटमा विजय प्राप्त गरेको छ।

भेलामा नवनिर्वाचित सांसदहरुका साथै राष्ट्रिय सभामा एमालेका सांसदहरु, निर्वाचन परिचालन कमिटीका सदस्यहरू, पार्टीका केन्द्रीय सदस्यहरू तथा प्रदेश पदाधिकारीहरु र जनवर्गीय संगठनका पदाधिकारीहरुलाई पनि बोलाइएको छ ।