त्यो एउटा तस्बिरबाट कांग्रेसले देखाएको ‘लोकतान्त्रिक सं‍स्कार’

काठमाडौं। मंगलबार दिउँसो सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेसका नेताहरु भेला भएर बुधबार बिहान हुने संसदीय दलको नेताका लागि मनोनयन दर्ता गरे।

पार्टी सभापतिसमेत रहेका देउवाले संसदीय दलको नेतामा चौथो कार्यकालका लागि मनोननय दर्ता गरिरहँदा महामन्त्री गगन थापाले पहिलोपटक दलको नेतामा उम्मेदवारी दिए।

उम्मेदवारी दिँदा एकैसाथ निर्वाचन समितिसमक्ष उभिएका देउवा-थापाको सौहार्द्रता प्रतिस्पर्धीको जस्तो थिएन। मनोनयनका क्रममा चलेको हँसीमजाकले कांग्रेसभित्र प्रतिस्पर्धा कति सहज र स्वभाविक छ भन्ने झल्को दिन्थ्यो।

गत वर्ष पार्टीको १४औँ महाधिवेशनमा दुई समूह बनाएर वडा तहदेखि प्रतिस्पर्धा गरेका कांग्रेस नेताहरु एक वर्षपछि फेरि संसदीय दलको नेतामा उस्तै गरी प्रतिस्पर्धा गर्दैछन्।

फरक यति छ गत मंसिरमा देउवासँग सभापतिमा प्रतिस्पर्धा गर्ने डा। शेखर कोइराला थिए भने यसपटक संसदीय दलको नेतामा गगन थापा मैदानमा छन्। सभापतिका लागि भएको दोस्रो चरणको मतदानमा देउवाले २७३३ मत पाए भने कोइरालाले १८५५ मत मात्रै पाए।

यद्यपि चुनावपछि एकले अर्काको उछितो काटेनन्, लोकतान्त्रिक विधि प्रक्रियालाई सहज रुपमा स्वीकार गरे। कांग्रेसभित्र आन्तरिक लोकतन्त्रको एउटा बलियो अभ्यास थियो त्यो। मंगलबार मनोनयनका क्रममा देउवा र थापा पक्षबीच देखिएको सौहार्द्रताले बुधबार ८९ सदस्यीय संसदीय दलमा जसले जिते पनि फेरि परिणामलाई सहर्ष स्वीकार गर्ने अनुमान कठिन छैन।

कांग्रेस सहमहामन्त्री जीवन परियार पार्टीभित्र प्रतिस्पर्धा स्वभाविक भएको टिप्पणी गर्छन्। मनोनयनपछि उनले भने, ‘नेतृत्वको लागि आकांक्षा राख्नु सकारात्मक विषय हो।

संसदीय दलको नेताको लागि चुनाव हुनु भनेको लोकतान्त्रिक पार्टीको सुन्दर पक्ष र अभ्यास हो। जित्ने र पराजित हुने दुवैले पार्टी र राष्ट्रिय राजनीतिको लागि उत्तिकै सक्रियतापूर्वक काम गर्नुहुनेछ।

कांग्रेसले वडा तहदेखि केन्द्रीय महाधिवेशनसम्म र संसदीय दलमा लोकतान्त्रिक अभ्यास गरिरहँदा समकालीन अरु पार्टी एमाले र माओवादी केन्द्रमा भने अवस्था ठीक उल्टो छ। लोकतान्त्रिक पद्धतिबाट नेतृत्व र नीति तय गर्ने सवालमा ती दलभित्र सामान्य छलफल र बहससमेत हुन छाडेका छन्।