नेपाल फिफा वरीयतामा यथावत

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)को विश्व वरीयतामा नेपाल यथावत रहेको छ ।

फिफाले बिहीबार निकालेको नयाँ वरीयता अनुसार नेपाल १७५ औं स्थानमा रहेको छ ।

नेपाल अघिल्लो महिना पनि १७५ औं स्थानमै रहेको थियो । दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा छ । १०६ औं स्थानमा रहेको भारत नेपाल भन्दा अघि रहेको स्थानमा छ । १५६ औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियामा दोस्रो स्थानमा छ ।

यस्तै, नेपालपछि भुटान १८५ औं स्थानमा रहदा बंगलादेश १९२ औं स्थानमा रहेको छ । पाकिस्तान १९५ औं स्थानमा रहदा श्रीलंका २०७ औं स्थानमा छ । कतार विश्वकप विजेता अर्जेन्टिना भने वरीयताको दोस्रो स्थानमा उक्लिएको छ ।

अघिल्लो वरीयतामा अर्जेन्टिना तेस्रो स्थानमा रहेको थियो । विश्व वरीयताको शीर्ष स्थानमा ब्राजिल यथावत छ । अर्जेन्टिना दोस्रो स्थानमा उक्लदा फ्रान्स तेस्रो स्थानमा उक्लिएको छ । यस्तै, बेल्जियम चौंथो स्थानमा झर्दा इंग्ल्यान्ड पाँचौं स्थानमा रहेको छ । नयाँ वरीयतामा नेदरल्यान्ड्स, क्रोएसिया, इटाली, पोर्चुगल र स्पेन छैटौंदेखि दशौँ स्थानमा रहेका छन् ।