राष्ट्रपतिले दिएको नयाँ सरकार गठन गर्ने समयसीमा आज सकिदै

काठमाडौं।नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सिमा आज ५ बजेसकिंदै छ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको परिणाम बुझाएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार बनाउन दलहरुलाई सात दिनको समय दिएकी थिइन् । राष्ट्रपति भण्डारीले दिएको समयसीमा सकिनै लाग्दा पनि दलहरुले सहमति जुटाउन सकेका छैनन् ।

वर्तमान सत्ता गठबन्धनले नै सरकार बनाउने कसरत गरे पनि प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको दाबीले सहमति हुन सकेको छैन । दुवै आफ्नो अडानबाट पछि नहटेपछि थप छलफलका लागि सत्ता गठबन्धनको बैठक आज बिहान १० बजे बोलाइएको छ ।

आलोपालो प्रधानमन्त्री हुँदा पहिलो प्रधानमन्त्री आफु हुनुपर्ने दुवै नेताको अडान रहेको छ । अन्तिम एक वर्ष माधव नेपाललाई प्रधानमन्त्री बनाउने उनीहरुको भनाइ छ । तर, दाहाल र देउवा दुवैले पहिलो प्रधानमन्त्री आफु हुनुपर्ने अडान लिएपछि सत्तारुढ गठबन्धनबीच नै फाटो आउने सम्भावना देखिएको छ ।