चिसो ह्वात्तै बढेपछि पश्चिम तराईका जिल्लाहरूमा जनजीवन कष्टकर बन्दै

काठमाडौं। तीन दिनदेखि चिसो ह्वात्तै बढेपछि धनगढी, बाँकेलगायत पश्चिम तराईको जनजीवन कष्टकर बनेको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुर र धनगढीको कैलाली लगायत क्षेत्रमा चिसोले जनजीवन प्रभावित छ ।

बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ। चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छ। सडकमा सवारीसाधन न्यून चलेका छन्। धनगढीको टीकापुर,अत्तरिया र नेपालगञ् बिहानैदेखि हुस्सु र कुहिरोले अत्यधिक चिसो भएको स्थानीय नैनबहादु बुढाले बताए। चिसोले घरबाहिर निस्किन सकिएको छैन,उनले भने।

चिसोले ज्यालादारी काम गर्ने बढी मारमा परेका छन् । उनीहरू काममा जान पाएका छैनन् ।
त्यस्तै काम गर्न जान नपाएको बाँकेको डुडुवा गाउँपलिका–४ का रामदिन गोडियाले बताए । आगो बालेर यहाँका नागरिकले न्यानो लिइरहेका छन् ।

चिसोले बिहान आवतजावत गर्ने विशेष गरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असहाय र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । चिसोकै कारण दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायतका बिरामी बढेका छन्।