नागढुंगाबाट दुई महिलासहित ४ जना लागुऔषध कारोबारी पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित नागढुंगाबाट प्रहरीले ४ जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका घर भएकी ४० वर्षीया सबिता खातुन, २७ वर्षीया सहनाज खातुन, ३३ वर्षका शेष अमिर र सर्लाही घर भएका अमृत चौधरी छन् ।

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना.६ ख ७०३६ नम्बरको बसमा सवार ३ जनाको साथबाट प्रहरीले डायलक्स डिसी १५९ बोत्तल, फेनारगन १ हजार एम्पुल, नाइट्रोभ्याट ४ हजार ५ सय ट्याब्लेट, नुफ्रिन १ हजार एम्पुल र डाइजेपाम १ हजार एम्पुल बरामद गरेको छ ।

आरोपीमध्येका अमृत चौधरी बागमती प्रदेश–०३–००१ ख २५४७ नम्बरको बसमा सर्लाहीबाट काठमाडौं आएका हुन् । उनको साथबाट ४८ बोत्तल कोरेक्स बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए । आरोपीहरुमाथि प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।