सुदूरपश्चिम प्रदेशमा सभामुखको निर्वाचन माघ २ गते हुने

काठमाडौं। सुदूरपश्चिम प्रदेश सभाका सभामुखको निर्वाचन माघ २ गते हुने भएको छ ।प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुखको निर्वाचन गर्नुपर्ने कानूनी प्रावधान छ ।

पुस १८ गते अर्थात सोमबार प्रदेश सभाको पहिलो बैठक बोलाइएको छ । यस हिसाबले माघ २ भित्र सभामुखको निर्वाचन गरिसक्नुपर्ने हुन्छ ।

दलहरूले भने सभामुखमा कसलाई उम्मेदवार बनाउने भनेर टुङ्गो लगाएका छैनन् । नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सभामुखको उम्मेदवारको बन्ने भनेर पार्टीले टुङ्गो नलगाएको बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश सरकार कसको नेतृत्वमा बन्ने भन्ने विषयको पनि टुङ्गो लाग्न सकेको छैन् । प्रदेश सभामा नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गरेको छैन् भने नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले दलको नेता चयन गरेका छन् ।

सभामुखको उम्मेदवारीबारे भने छलफलसम्म नभएको प्रदेश सभा सदस्यहरूले बताएका छन् । प्रदेश सभाको पहिलो बैठक भने सोमबार बस्ने सर्वदलीय बैठकबाट निर्णय भएको छ ।