जुम्लाको सिंजा गाउँपालिकाका दुर्गम गाउँमा नेपाल टेलिकमको ‘फोरजी’ सेवा सञ्चालन

काठमाडौं। वर्षौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका जुम्ला सिंजाका दुर्गम गाउँमा फोरजी सेवा सञ्चालनमा आएको छ । बुधबारदेखि सिंजा गाउँपालिकाका सबै गाउँमा फोरजी सेवा सञ्चालन भएसँगै स्थानीय उत्साहित भएका छन् ।

गाउँमै फोरजी सेवासहितको इन्टरनेट र टेलिफोन सञ्चालनमा आएपछि स्थानीयले राहत महसुस गर्नुका साथै स्थानीय तहको दैनिक कार्यसम्पादनमा समेत सहज भएको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए ।

इन्टरनेट सेवा नहुँदा यहाँका नागरिकलाई निकै सकस भएको थियो । अध्यक्ष धितालले भने, फोरजी सेवा विस्तारले गाउँमा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र मनोरञ्जन, सूचना आदान प्रदानको कामसमेत सहज हुने अपेक्षा छ।

गाउँपालिकाभित्र रहेका नागरिकलाई सूचना थाहा पाउनका लागि मात्रै नभई देश तथा विदेशका समसामयिक घटनाबारे सिंजाबासी अब इन्टरनेटका माध्यमबाट घरमै बसेर थाहा पाउने छन्।सिंजाका सातवटै वडा कार्यालयमा फोरजीसहितको इन्टरनेट सेवा सञ्चालन भएको छ ।

जसले गर्दा सेवाग्राहीलाई छिटोछरितो सेवा प्रवाह गर्न सहज भएको सिंजा गाउँपालिका र वडा वडापालिकामा इन्टरनेट सेवा विस्तार भएपछि जुनसुकै तालिम, गोष्ठी, अनलाइन फर्म भर्न र अनलाइनबाट कक्षा लिन यहाँका विद्यार्थीलाई समेत सजिलो भएको उनको भनाइ छ ।

यसअघि सिंजा क्षेत्रमा घाम लागेपछि मात्रै टेलिफोनले काम गर्ने र नाम मात्रको थ्रिजी आउँथ्यो । तर सिंजाको अध्यक्षमा पूर्णप्रसाद धिताल निर्वाचित भएलगतै उनको पहलमा सिंजाका गाउँगाउँमा फोरजी सेवा विस्तार भएको सिंजा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले बताए ।

टावरमा थप ठूलो क्षमताको सोलार पावर जडान गरेकाले विगतको जस्तो घाम नलागेसम्म टेलिफोन इन्टरनेट नआउने समस्या अन्त्य भएको छ।

सिंजा गाउँपालिकाको साझेदारीमा नेपाल टेलिकमको लगानीमा फोरजी सेवा सञ्चालनमा ल्याइएको हो । वायु ऊर्जाको विद्युत सिधै टावरमा जडान गरेपछि निरन्तर सञ्चार सेवाप्रवाह हुने भएको नेपाल टेलिकम कर्णाली प्रदेश कार्यालयका इन्जिनियर चन्द्रभूषण शाहले जानकारी दिए ।

उनका अनुसार कर्णाली प्रदेशमा फाइबरसहितको इन्टरनेट विस्तारको काम थालिए पनि ठेकेदारका कारण ढिलाइ भएको छ।

यद्यपि सिंजा गाउँपालिको निरन्तर पहलमा सिंजामा फोरजी सेवा विस्तार भएको हो। उक्त टावरले सिञ्जा क्षेत्रका कनकासुन्दरी र हिमा गाउँपालिकाका विभिन्न गाउँमासमेत काम गरेको पाइएको छ।