यी हुन् प्रधानमन्त्री प्रचण्डलाइ विश्वासको मत दिने, बैठकमा अनुपस्थित सांसद

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्दा २७० सांसद मतदानमा सहभागी भए। जसमध्ये २६८ सांसदले प्रचण्डलाई विश्वासको मत दिए भने २ जना सांसदले विपक्षमा मत दिए।

विपक्षमा मत दिनेमा नेमकिपाका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी छन्। तर २७५ सदस्यीय संसदमा ५ सांसद कता गए भन्ने चासो धेरैलाई छ।

मतदानमा सहभागी नहुने पाँचमध्ये एक ज्येष्ठ सदस्य पशुपति शमसेर जबरा हुन्। उनी ज्येष्ठ सदस्यको हैसियतले बैठकको अध्यक्षता गरिरहेका थिए।

कांग्रेसकै सांसद टेकबहादुर गुरूङ भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका कारण बैठकमा सहभागी हुन पाएनन्। उनी पनि मतदानमा सहभागी भएनन्।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार मतदानमा उपस्थित नहुने तीन सांसदमा मनोरमा शेरचन, किशोरसिंह राठोर, अम्बिका बस्नेत छन्। उनीहरू सबै कांग्रेसका सांसद हुन्।