प्रधानमन्त्री प्रचण्डले बोलाए आज सर्वदलीय बैठक,एमाले सशंकित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार सर्वदलीय बैठक आव्हान गर्नुभएको छ ।

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि राजनीतिक समिकरण केही फेरिएको छ ।

प्रधानमन्त्री प्रचण्ड पद तथा शक्ति बाँडफाँटमा कुनै न कुनै हिसाबले नेपाली कांग्रेसलाई पनि सहभागि गराउने प्रयासमा हुनुहुन्छ ।

तर, नेकपा एमाले भने कांग्रेसको समर्थनप्रति झस्किएको छ ।

कांग्रेसले राष्ट्रपति र सभामुखमध्ये एक पद आफुले पाउनुपर्ने संकेत गरेको छ ।

एमाले भने माओवादीसँगको पूर्व सहमति अनुसार यी दुवै पद आफुले पाउनुपर्ने अडानमा छ ।

यसैबीच, सत्तारुढ दलहरुले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको समते भागबण्डा टुंगो लगाएको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार भएको छलफलपछि सबै पद बाँडफाँट मिलेको बताईएको छ ।

सहमतिअनुसार एमालेले राष्ट्रपति पद लिनेछ भने उपराष्ट्रपति माओवादीले पाएको छ ।

प्रधानमन्त्री र सभामुखमा आलोपालो गर्ने पूर्व सहमति छ ।

त्यसअनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनिसकेका छन् भने सभामुख एमालेले पाउनेछ ।

५ माघमा हुने सभामुखको निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता हुनेछ ।

एमाले उच्च स्रोतका अनुसार सभामुखमा झापा–२ बाट निर्वाचित देवराज घिमिरेको सम्भावना बढी छ ।

सत्ता गठबन्धनको भागबण्डामा उपसभामुख भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाएको छ ।

उपसभामुखको निर्वाचन ७ माघका लागि तय भएको छ ।

रास्वपामा उपसभामुखको दाबेदार सोभिता गौतम हुन् ।