नेपाल टेलिकमका सेवाग्राहीहरुले भोग्नु परेको सास्ती प्रति गम्भिर बन्न चार वटै ट्रेड युनियनको माग

काठमाडौं। मन्त्रीहरुले शपथ गर्ने बेला माघ ३ गते दिउसो टेलिकमका सेवा अवरुद्ध भएको र अझै पनि पूर्णरुपमा चुस्तदुरुस्त हुन नसकेकोमा दोषीलाई कार्बाही गरी क्षतिपूर्ति भराउन नेपाल टेलिकमका चारवटै युनियनले माग गरेका छन् ।

प्रबन्धनिर्देशक सुनिल पौडेललाई सो विषयमा ध्यानाकर्षण गराई बोधार्थ टेलिकमका अध्यक्ष तथा सञ्चार सचिव बैकुण्ठ पौडेल र श्रम तथा रोजगार कार्यालयलाई दिइएको ती चार युनिनयले जानकारी दिएका हुन् ।

विगतमा पनि यस प्रकारका समस्याहरु आउने गरेको र त्यस्ता समस्या भविष्यमा आउन नदिन आन्तरिक रुपमा छानविन समिति गठन गरी कार्बाही हुने गरेकोमा यसपटक टानबिन नभएकोमा युनियनहरुले आपत्ति जनाएका छन् ।

दोषी उपर कारवाहीमा तदारुकता नदेखाउनुले सम्बन्धित पक्षको कम्पनीमा जिम्मेवारीबोधको कमी र दण्डहीनता बढेको ठहर उनीहरुको छ ।

आगामी दिनमा यस्ता समस्या आउन नदिन छानबिन गरी दोषीलाई हदैसम्मको कार्बाही गरी क्षतिपूर्ति असुलउपर गराउनु पर्ने मागपत्रमा उल्लेख छ ।

सेवा नै अवरुद्ध हुने घटनाहरु बारम्बार नदोहोरिने गरी सिष्टम र सेवाहरुको प्राविधिक परीक्षण गराउन पनि संयुक्त रुपमा माग गरिएको पत्र उनीहरुले नेपालीत्व डट कमलाई उपलब्ध गराएका छन् ।