सार्वजनिक यातायात सुधार गर्न कार्यदल गठन

काठमाडौं । सरकारले सार्वजनिक यातायातको सुधारका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ ।

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी प्रदूषण, सवारी सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठन गर्नुभएको हो ।

सात सदस्यीय कार्यदलको संयोजकमा पूर्वसचिव शरदचन्द्र पौडेल हुनुहुन्छ । कार्यदलमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, पुल्चोक इञ्जिनियरिङ क्याम्पसका प्राध्यापक डा.पदमबहादुर शाही, यातायातविज्ञ मधुसुदन आचार्य र इञ्जिनियर विजय गौतम सदस्य रहेका छन् ।

यस्तै, कार्यदलमा यातायात व्यवसायी महासंघका प्रतिनिधि सदस्य रहनेछन् भने यातायात व्यवस्था विभागका महानिर्देशक डा.टोकराज पाण्डेय सदस्यसचिव रहनुभएको छ ।