देउवाकै लाइनमा आए गगन थापा: पार्टी भित्रको शक्ति सन्तुलन के होला ?

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शक्ति सन्तुलनका लागि कांग्रेसलाई राष्ट्रपति पद दिइनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँले गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।

राष्ट्रिय सहमतिका आधारमा कांग्रेसले राष्ट्रपति पाउनुपर्ने उनको भनाई छ । ‘राष्ट्रपति, प्रधानमन्त्री, सभामुख फरक-फरक पार्टीको हुँदा शक्ति सन्तुलनमा आउने हुँदा राष्ट्रिय सहमतिमा नै कांग्रेसले राष्ट्रपति पाउनुपर्छ,’ महामन्त्री थापाले भने ।

पार्टीले राष्ट्रपतिको उम्मेदवारबारे केही दिनभित्र निर्णय गर्ने बताउँदै थापाले सोही उम्मेदवारलाई जिताउन सबै पार्टीसँग आह्वान गरिने बताए ।

‘खासगरी नेकपा माओवादी केन्द्रले कांग्रेसको उम्मेदवारलाई मत हाल्ने अपेक्षा हाम्रो हो, किनभने पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखाबाट जितेर आउँदै गर्दा त्यहाँ कांग्रेसको मत परेको छ । म काठमाडौँमा विजयी हुँदा त्यहाँ माओवादीको मत परेको छ’ उनले भने ।

महामन्त्री थापाले पाँच वर्षका निम्ति मत मागेर आएको बताउँदै अहिले विभिन्न बहाना बनाएर जनताको मतलाई दुरुपयोग गर्न नपाइने उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिइसकेपछि राष्ट्रपति पद नेपाली कांग्रेसको उम्मेदवारलाई दिनुपर्ने भन्दै थापाले भने, ‘त्यसो भयो भने राजनीतिमा सन्तुलन ल्याउँछ ।

महामन्त्री थापाले एकल तागतका आधारमा पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राखे । अरुसँग मिलेर जाँदा कांग्रेस बलियो नहुने विगतले देखाइसकेको भन्दै पार्टीलाई एकढिक्का बनाएर जानुको विकल्प नभएको थापाले बताए । नेपाली कांग्रेस नयाँ कार्यक्रमका साथ पुनः जनतामाझ आउने थापाको भनाइ थियो ।