राष्ट्रपतिको तामझाम शैली बन्द गरौं: महामन्त्री थापा

फाइल तस्वीर

काठमाडौं। कांग्रेस महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिसहित विशिष्ट व्यक्तिहरुको सवारीका बेला नागरिकलाई असुविधा नहुने गरी व्यवस्था मिलाउनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालफर्मात थापाले विशिष्ट व्यक्तिकहरुको सुरक्षासम्बन्धी कार्यविधि फेर्नुपर्ने बताए । अहिल्यैदेखि तयारी गरेर नयाँ राष्ट्रपति आउने समयसम्म नयाँअभ्यासको थालनी गर्न उनले आग्रह गरे ।

निर्वाचित हुने नयाँ राष्ट्रपतिको पहिलो दिनबाट नै यो संशोधित कार्यविधि लागू हुने गरी अहिलेदेखि तयारी गरौँ र नयाँ राष्ट्रपतिसँगै नयाँ अभ्यासको थालनी गरौँ’। थापाले फेसबुकमा लेखेका छन् ।

राष्ट्रपति संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको भन्दै थापाले त्यसो हुनुमा तामझाम शैली कारक भएको औंल्याए । संस्थालाई सम्मानित र मर्यादित बनाउन नागरिकलाई दुःख दिने परम्परा र शैली बदल्नुपर्ने उनको भनाइ थियो ।

‘राष्ट्रपति एउटा व्यक्ति होइन संस्था हो । यो संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको छ । यसको एउटा कारण तामझामवाला शैली हो।

संस्थालाई सम्मानित र मर्यादित बनाउन नागरिकलाई दुःख दिने यो परम्परा र शैली बदलौँ’, उनले भने।

थापाले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा फुटपाथमा हिँडिरहेका ट्रमा सेन्टरका चिकित्सकमाथि कुटपिट भएको घटनाका दोषीलाई कारबाही गर्न सार्वजनिक रुपमा उठेको माग सरकाले तत्काल सम्बोधन गर्नुपर्नेमा पनि जोड दिए ।

राष्ट्रपतिको सवारीमा क्रममा चिकित्सकमाथि भएको आक्रमण अशोभनीय र दुःखद भएको टिप्पणी पनि उनले गरे।