कुकुर र बिरालोको मासु बेचेको आशंकामा एक पसलमाथि अनुसन्धान

काठमाडौं । कुकुर र बिरालोको मासु बेचेको आशंकामा एउटा पसलमाथि अनुसन्धान गरिएको छ । हङकङको एउटा मासु पसलले कुकुर र बिरालोको मासु बेचेको गुनासो बढेपछि त्यहाँका सरकारी अधिकारीहरुले पसलमाथि अनुसन्धान गरेको समाचारहरुमा जनाइएको हो ।

हङकङको सरकारी निकाय कृषि, मत्स्य तथा संरक्षण विभागले खाद्य तथा वातावरण विभागसँग मिलेर मासु पसलमा छापा हानेको थियो ।

सरकारी अधिकारीहरुलाई उदृत गर्दै एससीएमपीले जनाए अनुसार याउ मा तेइमा अवस्थित एक मासु पसलले कुकुर र बिरालोको मासु बेचेको सूचना बाहिरिएको थियो ।

हङकङको कानुनले खाद्य वस्तुको रुपमा प्रयोग गर्न कुकुर वा बिरालोलाई मार्न पाइँदैन भने बिक्री वितरण गर्न र मासु खान पनि पाईंदैन ।

त्यहाँका अधिकारीहरुले पसलबाट मासु बरामद गरी त्यसलाई परीक्षणका लागि पठाएको र प्रमाणित भए मुद्दा चलाइने बताएका छन् ।

आरोप पुष्टि भए त्यस्ता व्यक्तिलाई ५ हजार हङकङ डलर जरिवाना र ६ महिनासम्मको जेल सजाय हुनसक्ने बताइएको छ ।