ग्याँस सिलिण्डर विष्फोट हुँदा कांग्रेस नेता तथा सांसद चन्द्र भण्डारी र उनकी आमा घाइते

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी र उनकी ८६ वर्षीया आमा ग्यास सिलिण्डर बिस्फोट हुँदा घाइते भएका छन् ।

काठमाडौंको बुद्धनगरस्थित भण्डारीको निवासमा गएराति ग्याँस सिलिण्डर विस्फोट भएको थियो ।

राति खाना आइवरी सुतेको बेला सिलिण्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएको उनको पारिवारीक स्रोतले बतायो।

उनीहरु दुवैको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।

गएराति नै भण्डारीलाई भेट्न कीर्तिपुरस्थित अस्पताल पुगेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उनीहरुको अवस्था गम्भीर रहेको सामाजिक सन्जालमा लेखेका छन्।

चन्द्र भण्डारीको शरीरको करिब २५ प्रतिशत र उहाँकी आमाको करिब ७० प्रतिशत भागमा असर गरेको भण्डारीको सचिवालयले जनाएको छ।