महन्थ ठाकुर र कृष्ण सिटौलामध्ये एकलाई राष्ट्रपति बनाउन भारतको दबाब, एमालेबाट राष्ट्रपति नहुने पक्का

काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा हालै नेपालको दुईदिने तुफानी भ्रमण गरेर फर्किए । प्रशासनिक व्यक्ति भए पनि उनको भ्रमण राजनीतिक उद्देश्य प्रेरित थियो ।

उनी खासगरी वर्तमान सत्तारुढ गठबन्धनको भविष्य र आउँदो फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनप्रति चासो लिएर नेपाल आएको स्रोतहरुको भनाइ छ ।

सचिवस्तरीय बैठकको बहानामा आएका थिए क्वात्रा । तर, उनले भेटवार्ता चाहिँ राष्ट्रप्रमुखकै स्तरको गरे ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि गठबन्धन संयन्त्रका संयोजक केपी शर्मा ओली र विपक्षी दलका नेता शेरबहादुर देउवा सबैले एउटा सचिवस्तरको कर्मचारीलाई अस्वाभाविक खातिरदारी गरेका थिए ।

क्वात्रा आउनुअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणको निम्तो दिने प्रचार गरिएको थियो । तर, प्रचण्डलाई निराश बनाउँदै उनी औपचारिक निमन्त्रणा नदिइकनै फर्किए ।

बरु राष्ट्रपति निर्वाचनका सम्बन्धमा ‘घनीभूत’ छलफल गरेको स्रोत बताउँछ । दिउँसो क्वात्रासँग औपचारिक भेट गरेका प्रधानमन्त्री प्रचण्डले राति फेरि बालुवाटारमै गोप्य भेटवार्ता गरेका थिए । उक्त भेटवार्ता दुई घन्टासम्म चलेको बालुवाटार स्रोतको दावी छ, जसको विवरण गोप्य राखियो ।

यसअघि आकस्मिक तवरबाट एमाले र माओवादीको गठबन्धन बन्दा भारत जिल्ल परेको थियो । केही घन्टामै ठूलो राजनीतिक ट्विस्ट आउँदा भारतीय कूटनीतिज्ञहरुले चलखेल गर्ने मौकै पाएनन् ।

आफ्नो जानकारीविना भएको राजनीतिक विकासलाई ‘करेक्सन गर्न’ भारतले यतिवेला निकै कसरत गरिरहेको छ । क्वात्राको भ्रमण त्यसैका लागि थियो ।

क्वात्राले भारतीय संस्थापनको सन्देश प्रचण्ड र देउवालाई सुनाएका छन् । उनले राष्ट्रपतिमा भारतले पनि सहजै स्वीकार्न सक्ने व्यक्तित्व हुनुपर्ने भन्दै सम्भावित दुई नाम प्रस्ताव गरेका छन् ।

स्रोतका अनुसार उनले पहिलो प्राथमिकतामा राखेर सिफारिस गरेका नाम हुन् लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र कांग्रेस नेता कृष्ण सिटौला । सरकार प्रमुख र राष्ट्रप्रमुख दुवै कम्युनिष्ट हुँदा नेपाल चीनतर्फ ढल्किनसक्ने भारतीय चिन्ता पनि उनले सुनाएका छन् ।

क्वात्राले प्रस्ताव गरेका लोसपा अध्यक्ष ठाकुर परम्परागत रुपमै भारतका विश्वासपात्र हुन् । नेपालस्थित भारतीय दूतावासको निर्देशनमा चल्ने गरेको आरोप उनीमाथि लाग्दै आएको छ ।

सिटौला पनि भारतीय संस्थापनसँग नजिक मानिन्छन् । तर, महन्थ जस्तो ‘भारतपरस्त’ चाहिं होइनन् । हालै भएको संसदीय चुनावमा पराजित उनले अब राष्ट्रपति बनेर आफ्नो राजनीतिक जीवनलाई सेटल गर्न चाहेका छन् । राष्ट्रपति बन्ने आकांक्षाका विषयमा जिज्ञासा राख्न हामीले सम्पर्क प्रयास गर्दा सिटौलाको फोन उठेन ।

कांग्रेसमा राष्ट्रपतिका प्रवल दावेदार रामचन्द्र पौडेल पनि हुन् । उनी पनि भारतलाई रिझाउन प्रयत्नशील छन् । यसैगरी गोपालमान श्रेष्ठ पनि आफ्नो दावेदारी पेश गरिरहेका छन् ।