प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच पुरानो गठबन्धन ब्युँताउने सहमति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र देउवाबीच छलफल भइरहेको छ। 

  राष्ट्रपति निर्वाचन र पुरानो गठबन्धन ब्युँताउने विषयमा देउवा र प्रचण्डबीच निर्णायक छलफल भइरहेको छ।

२५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ। फागुन १० गतेसम्म माओवादीलाई कांग्रेस उम्मेदवारको पक्षमा उभ्याउन कांग्रेस नेताहरूले प्रयास गरिरहेका छन् ।

पुस १० मा सात दलीय गठबन्धनबाट सरकार बन्दा राष्ट्रपति नेकपा एमालेले पाउने सहमति भएको थियो। तर पुस २६ मा कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि राष्ट्रपतिका विषयमा नयाँ बहस भइरहेको छ ।

एमालेले पुस १० सहमति कार्यान्वयनका अडान लिएको छ भने माओवादी केन्द्रले राष्ट्रिय सहमति राष्ट्रपति चयन हुनुपर्नेमा जोड दिइरहेको छ ।

यसले सत्ता गठबन्धनमा खटपट पैदा भएको छ । उक्त परिस्थितिमा कांग्रेस र माओवादीबीचको छलफलले राजनीतिले नयाँ कोर्स लिने आंकलन गरिएको छ।