भोली सार्बजनिक विदा

काठमाडौं।भोली फागुन ९ गते सार्बजनिक बिदा हुने भएको छ ।

ग्याल्पो ल्होसारको अबसरमा सरकारले सार्बजनिक बिदा दिने भएको छ ।

ग्याल्पो ल्होसार राष्ट्रिय पर्व भएकाले सरकारले सार्वजनिक विदा दिएको हो ।

ग्याल्पो ल्होसार

हिमाली क्षेत्र आसपासमा माटो खोस्रदै, चौरी पाल्ने अनि मौसमसँग पौंठेजोरी खेल्दै हिउँसँगै हुर्किएका शेर्पा लगायत अन्य उच्च भू–भागमा बसोबास गर्ने बौद्धमार्गी समुदाय आज ‘ग्याल्पो ल्होसार’ मनाउँदैछन् ।

ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ । अर्थात् यो नयाँ वर्ष २१४८ प्रवेश दिन पनि हो ।

यो ग्याल्पो ल्होसारलाई हर्षका साथ स्वागत गरौँ । यो वर्ष ‘गोरु वर्ष’का रूपमा मनाउँदैछ ।

हुन त, यो ग्याल्पो ल्होसार कुनै समुदाय विशेषसँग मात्र सम्बन्धित चाड त हैन्, एउटा साझा उत्सर्गको साटासाट हो ।

ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्गयालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको हो ।

पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाउँछन्।

नेपालको हिमाली क्षेत्रमा वसोवास गर्ने शेर्पा समूदायले १५ दिनसम्म ग्याल्पो ल्होसार मनाउँछन् ।

शेर्पा समुदायले ल्होसार शुरु हुनु एकमहिना अघि आ–आफ्नो घर रङ्ग्याउने, सफा गर्ने र नयाँ लुगाफाटो किन्ने गर्छन् ।

उनीहरूले सम्बोटा लिपिलाई सेतो पिठो प्रयोग गरेर घरको खम्बा, भित्ता एवं दलिनमा टाँसी देलेकुु भन्ने वाक्यांश र अष्टमङ्गलका चिन्हहरूले घर सजाउने गर्छन् ।

तीन प्रकारका ल्होसारमध्ये शेर्पा समुदायले मनाउने ल्होसारलाई विशेषतः ग्याल्पो ल्होसार भनिन्छ ।

तथापि यस ल्होसारमा अन्य समुदायहरूको पनि उत्कृष्ट समभाव अनि सक्रियता पाइन्छ ।

शेर्पा, तामाङ, गुरुङ, हुम्ली, मुस्ताङी अनि मनाङी लगायत अन्य धेरै समुदायको यो एउटा साझा ल्होसार हो ।

नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष एवं सोलुखुम्बु खुम्जुङका आङछिरिङ शेर्पाका अनुुसार, यो दिन बिहानै घरभित्र पूजाआजा हुन्छ । त्यसपछि आफन्त कहाँ जाने९आउने हुन्छ ।

शुद्ध रूपमा तयार पारिएको परिकार खाने गरिन्छ । आफन्तलाई पैसा, कोसेली दिने गरिन्छ ।

कोसेलीमा लुगाफाटा र विद्युतीय सामान हुन्छ । परिवारका सबभन्दा बरिष्ठ व्यक्तिको घरमा जाने चलन छ ।

आजको ल्होसारको सबैभन्दा महत्वपूर्ण कुरा भने खाप्से हो ।

मैदाको पिठोबाट बनाएको एकप्रकारको यो मिठाई आजको दिन विशेष परिकार हो, खाप्से खान नभुल्नु होला नि ।

हिमाली हावापानीको कुशल आंकलन गरेर आजका दिन उम्रिने गरी गहुँको बिउँ छरिएको हुन्छ, जसलाई लोपूलु भनिन्छ ।

यसरी उम्रिएको गहुँको टुसालाई आज नयाँ वर्षको नयाँ वालीका रूपमा लिइन्छ ।

यस वर्षभरि हिमालको हावापानीले हाम्रा हिमाली दाजुभाई अनि दिदी बहिनीलाई साथ दिनेछन्, यी लोपूलहरूले सबैको कल्याण गरुन् ।