एमालेलाई कुनै पनि हालतमा राष्ट्रपति नदिने प्रचण्डको अडान,भित्रभित्रै माधव नेपालको चर्चा

काठमाडौं। भावी राष्ट्रपतिका लागि कोसँग समीकरण बनाउने भन्ने सुझाव र निर्णय लिन प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले सोमबार पार्टी पदाधिकारीको बैठक बोलाएका छन्।

औपचारिकताका लागि पार्टी बैठक आव्हान गरे पनि दाहालले एमाले बाहिरबाट राष्ट्रपति बनाउने ‘बटमलाइन’ बनाइसकेको स्रोतको भनाइ छ ।

यसैका लागि उनले कांग्रेससँग आइतबारबाट निर्णायक संवाद पनि थालेका छन् ।

उच्च स्रोतका अनुसार प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भावी राष्ट्रपति निर्वाचनमा सहकार्यको राजनीतिक मार्गचित्र कोरिएको छ ।

राष्ट्रपति निर्वाचनमा माओवादीको निर्णायक मत रहेकाले दाहालले एमाले र कांग्रेस दुवैलाई दबाबमा राखेर आफू अनुकूल ‘सफ्ट’ पात्रको खोजी गरिरहेका छन् ।

आइतबार राती प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभापति देउवासहित कांग्रेस शीर्ष नेता र प्रधानमन्त्री दाहालबीच छलफल भएको थियो ।

भेटमा भावी राष्ट्रपतिको बिषय र आगामी सहकार्यबारे छलफल भएको थियो ।

त्यहाँ दाहालले कांग्रेस नेताहरुलाई समर्थन गर्न सकिने वचन दिएका छन् ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि भन्दै माधव नेपालको नाम अघि सारे चाहिँ आफू के गर्ने भन्ने अन्योलमा पर्ने जवाफ कांग्रेस नेताहरुलाई दिएका थिए ।

नाटकीय रुपमा कुनै घटनाक्रम बदलाव नआएको अवस्थामा दाहाल एमाले बाहिरको राष्ट्रपतिको अडानमा अब कायम रहने उनीनिकट नेताहरुले बताएका छन्।