राष्ट्रपति काँग्रेसलाइ दिने सहमतिपछि : ओलीले दिए प्रचण्डलाई सरकार छोड्ने चेतावनी

फाइल तस्वीर

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई वर्तमान सरकार छोड्ने चेतावनी दिएका छन् ।

आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलका क्रममा अध्यक्ष ओलीले राष्ट्रपतिमा दायाँबायाँ गरे भोलि नै सरकार छोड्ने चेतावनी दिएका हुन्।

पुस १० गतेको सहमति बमोजिम राष्ट्रपति आफ्नो दलले पाउनु पर्ने सर्तसहित बालुवाटार पुगेका ओलीले नेपाली कांग्रेसले दिएको धोका नभुल्न सचेत गराएका थिए।

लोकतान्त्रि समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले सञ्चार माध्यमलाई दिएको जानकारी अनुसार ओलीले राष्ट्रपतिको विषयलाई लिएर गठबन्धन तोडे राम्रो नहुने चेतावनी दिएका थिए ।

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठकमा प्रचण्डले गरेको ब्रिफिङ उदृत गर्दै महतोले प्रधानमन्त्री प्रचण्डले सबै दलले एक–एक वटा महत्त्वपूर्ण पद लिएको र राष्ट्रिय सहमति गर्ने हो भने कांग्रेसलाई राष्ट्रपति पद दिन उपयुक्त हुने कुरा ओलीसमक्ष राखेको जानकारी दिए ।

‘३२ सिट भएको माओवादीले प्रधानमन्त्री लिएको छ, एमालेले सभामुख पाएको छ, राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पाएको छ । राष्ट्रिय सहमति गर्ने हो भने संघीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले राष्ट्रपति पाउनुपर्ने उपयुक्त देखिन्छ,– महतोले भनेका छन् ।