प्रचण्डसँग यसरी धोकाको बदला लिनेछन् केपी ओली ?

फाइल तस्वीर

काठमाडौं । भनिन्छ, आफू सिसाको घरमा बस्ने गरिएको छ भने अरुको घरतिर ढुंगा नहान्नू। अर्थात्, आफ्नो धरातल कमजोर छ भने अर्कालाई जिस्काउने काम नगर्नू। तर, अहिले कमरेड प्रचण्ड यही गरिरहेका छन्।

आफूलाई प्रधानमन्त्री बनाउन निर्णायक भूमिका खेल्ने नेकपा एमाले र यसमा पनि अध्यक्ष केपी शर्मा ओलीलाई धोका दिएर नेपाली कांग्रेसलाई राष्ट्रपतिमा सघाउने निर्णय लिएका छन्।

आफैलाई जन्माउने सत्ता गठबन्धन भत्काएर कांग्रेसको नेतृत्वमा अर्को गठजोड गर्न पुगेका छन्। आफै बसेको घरमा आगो झोस्ने, आफैले खाएको थालमा थुक्ने, आफ्नै जननीको भर्त्सना गर्ने र अनि आफै हिँडेको बाटो भत्काउने आँट सानोतिनो नैतिक विचलनले सम्भव हुँदैन।

यसका निम्ति जन्मजात आचरणगत भ्रष्टता आवश्यक पर्छ। यस मानेमा प्रचण्डले आफूलाई सबैभन्दा योग्य सावित गरेका छन्।

नेपाली राजनीतिमा सबैभन्दा कमजोर जगमा उभिएका नेता हुन् प्रचण्ड। आफ्नै विगतले तर्साएर निद्रा नलाग्ने नेता हुन् प्रचण्ड। एकातिर अन्तर्राष्ट्रिय समुदायले उनीमाथि निगरानी गरिरहेको छ।

अर्कोतिर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिविर भ्रष्टाचार प्रकरणको फाइल जहिलेसुकै खोल्न सकिने गरी तम्तयार राखेको छ। यिनै प्रचण्ड नेपालकै सबैभन्दा बदनाम ठेकेदारको आश्रयमा बस्छन्। देशकै सबैभन्दा सन्दिग्ध व्यापारीले घेरिएका छन्।

यिनै प्रचण्ड कहिले भारतको आडमा चीनसँग जोरी खोज्छन् त कहिले चीनको उक्साहटमा भारतसँग जिस्किन पुग्छन् । कहिले माधव नेपाललाई कठपुतली भन्दै उनका पुतला दहन गर्छन्, गराउँछन्।

कहिले तिनै माधव नेपाल नभए वार्तामै बस्दिनँ भन्छन्। केपी शर्मा ओलीको सत्तोसराप गर्दै शेरबहादुर देउवाका दैलामा पुग्छन् त कहिले तिनै देउवाको दैलो विष्ट्याएर ओलीको बार्दलीमा बुर्कुसी मार्छन्।

ल भैगो, आफ्नो फाइदाका लागि अडान परिवर्तन गर्नु र राजनीतिक साझेदार फेर्नुलाई सामान्य र स्वाभाविक मानौं। तर, सबैले देख्ने गरी नांगोरूपमा धोका र बेइमानीको इतिहास रचेका छन्।

जसले आफूलाई गुन लगाए, उनैलाई बैगुनको भारी बोकाएर हिँड्न सक्ने उनको क्षमताको उचित कदर हुनैपर्छ। यसको उचित हिसाबकिताब केपी शर्मा ओलीसँग पक्कै हुनेछ।

साथै प्रचण्डजत्तिको चतुर खेलाडीबाट पाएको धोकावापतको अमूल्य स्वाद चुक्ता गर्न पनि ओलीजत्ति सक्षम र उपयुक्त पात्र पनि अरु समकालीन राजनीतिमा छैन।

अहिले ओलीलाई धोका दिएर सिंगो एमालेजनलाई जिल्याइदिएकामा प्रचण्ड भित्रभित्रै खित्खिताइरहेका होलान्। तर उनको यो कुटिल हाँसो अब केही दिन पनि टिक्नेवाला छैन।

कांग्रेसको पोल्टामा राष्ट्रपति पारिदिएपछि राष्ट्रिय राजनीतिक समीकरण तत्काललाई उल्टिएको छ। तैपनि नयाँ समीकरण स्थायी हुने छैन। संसदको सबैभन्दा ठूलो दल कांग्रेस केवल आलंकारिक राष्ट्रपतिमा चित्त बुझाएर बस्ने छैन।

संसदको दोस्रो ठूलो दल एमालेलाई सभामुखमा चित्त बुझाएर बस्न त समस्या नहोला तर प्रचण्डको धोकाधडीको चोट सहेर बस्न सहज हुनेछैन। त्यसैले कांग्रेस र एमालेको स्वार्थ यहीँनिर मिल्न सक्नेछ।

जब कांग्रेस र एमाले एक ठाउँमा हुनेछन्, राष्ट्रिय राजनीतिमा माओवादीको उपादेयता समाप्त हुनेछ। विपक्षी बेन्च राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले कब्जा गर्नेछन्।

त्यतिखेर माओवादीले विपक्षीको हैसियत समेत गुमाउनेछ। माओवादीसँग न एमालेको आलोचना गर्ने नैतिक हैसियत हुनेछ, न त कांग्रेसका बारेमा टिप्पणी गर्ने शब्द नै बाँकी रहनेछन्।

ओलीले देउवालाई समर्थन गरेपछि प्रधानमन्त्री र राष्ट्रपति दुवै पदमा कांग्रेस हुनेछन्। सभामुख एमालेका, राष्ट्रिय सभाका अध्यक्ष नेकपा एसका, उपसभामुख रास्वपाका, उपराष्ट्रपति जसपाका हुनेछन्।

८ दलीय बालुवाटार सहमतिअनुसार अबका ३ वर्षपछि माधव नेपाल र त्यसको एक वर्षपछि केवल एक वर्षका लागि चुनावी सरकारको नेतृत्व देउवाले पाउनेछन्। के देउवा चार–चार वर्ष प्रचण्डका शाहज्यादा भएर बस्छन्? पक्कै बस्ने छैनन्।

रामचन्द्र पौडेललाई शीतलनिवासमा थान्को लगाएको केही दिनमै देउवा बालकोट पुग्नेछन्। बालकोटका बाको आशिर्वादमा यो संसदको कार्यकालभरिका लागि देउवा प्रधानमन्त्री बन्नेछन् । प्रचण्ड सडकमा या कुनै काराबासमा हुनेछन्।