ओलीको पत्रले माधव नेपाल खुशी भने संवादको ढोका खुल्यो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङलाई मत दिन आग्रह गर्दै नेपाली कांग्रेस बाहेक संसदमा प्रतिनिधित्व गर्ने सबै दल र स्वतन्त्र सांसदलाई पत्र लेखेका छन् ।

एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादीले ओलीको पत्रबाट सम्वादको ढोका खुलेको भन्दै निरन्तर सम्वाद रहेमा सहकार्यको वातावरण बन्न सक्ने प्रतिक्रिया दिएको छ ।

फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास नेम्वाङले शनिबार मनोनयन दर्ता गराएका छन् ।

त्यसलगत्तै नेकपा एमालेले नेम्वाङलाई भोट माग्दै संसदमा प्रतिनिधित्व गर्ने दलका नेता र स्वतन्त्र सांसदहरुलाई पत्र पठाएको थियो ।

अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर भएको पत्र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल र स्वतन्त्र सांसद गरी १७ जनालाई पठाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले जानकारी दिए ।

उनका अनुसार कांग्रेस बाहेकका सबै दललाई औपचारिक पत्र पठाएर नेम्वाङलाई मत दिन भनिएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पठाइएको पत्र सो पार्टीका नेता जगन्नाथ खतिवडाले सामाजिक सन्जालमा पोष्ट गर्दै प्रतिक्रियासमेत सार्वजनिक गरेका छन् ।

पत्र पठाएकोमा ओलीलाई धन्यवाद दिंदै खतिवडाले यसबाट सम्वादको ढोका खुलेको बताएका छन् । सम्वादको वातावरण बनिरहे भविष्यमा सहकार्यको वातावरण बन्नसक्ने उनले उल्लेख गरेका छन् ।

तर राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा भने एमालेको आग्रह स्वीकार गर्न नसकिने खतिवडाले बताएका छन् ।

उनले लेखेका छन्, ‘राष्ट्रपति निर्वाचनको सन्दर्भमा समय निकै अगाडि बढिसकेको हुँदा एमालेको अनुरोधलाई स्वीकार गर्ने स्थिति नभएतापनि सकारात्मक सोचका साथ राजनीतिक सम्वादको वातावरण निरन्तर रहिरहेमा एजेन्डाअनुसार सहकार्यको वातावरण निर्माण हुनसक्दछ ।

एकीकृत समाजवादीले एमालेको पत्रको विषयमा आफ्नो धारणा सार्वजनिक गरिसके पनि पाँच दलका नेताहरुले भने मुख खोलेका छैनन् ।

राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा), हाम्रो नेपाली पार्टी र संघीय समाजवादी अनिर्णित छन्।

राप्रपाको प्रतिनिधिसभामा १४ र प्रदेश सभामा २८ सांसद छन् ।

आठ दलीय गठबन्धनले कांग्रेसका रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएपछि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिंदै सरकारबाट बाहिरिसकेको छ ।

प्रतिनिधिसभामा १९ सिट रहेको रास्वपाले पनि राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्ने निर्णय गरिसकेको छैन ।

राष्ट्रपतिको निर्वाचनमा के गर्ने भनेर निर्णय गर्न सोमबार केन्द्रीय समितिको बैठक बसेर निर्णय गर्ने रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले बताए ।

राष्ट्रपतिका उम्मेदवार पौडेलले शनिबार रास्वपा सभापति रवि लामिछानेलाई भेटेर मत मागेका थिए।

प्रतिनिधिसभामा एक र प्रदेश सभामा तीन सांसद रहेको नेमकिपाका नेता प्रेम सुवालले सबै परिस्थिति हेरेर निर्णय गर्ने बताए।

निर्णय लिन बाँकी हाम्रो नेपाली पार्टीका दुई प्रदेश सभा सदस्य र संघीय समाजवादी पार्टीको एक प्रदेश सभा सदस्य छन्।