गणतन्त्रलाई आत्मसात गर्न नसक्ने ओलीसँग सहयात्रा गर्न सकिन्न: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग राष्ट्रिय सहमतिको सुत्रधार बन्नुपर्छ भन्दा ओलीले नमानेको बताएका छन्। तर, ८ दलको बीचमा भएको सहमति राष्ट्रिय सहमति नै भएको बताए।

‘अब एमाले पनि कतै जान सक्ने अवस्थामा छैन,उनले भने, ‘एमाले प्रतिपक्षमा त जान सक्छ। राप्रपाका मन्त्रीहरुले राजीनामा दिनु भयो।

एमालेका सभामुख हुनुहुन्छ। उहाँ हट्ने होइन। अब यो सरकार भत्किन्छ। अर्को सरकार गठन हुन्छ। यो प्रक्रियामा त जानु नै छ।

उनले लोकतन्त्र र राष्ट्रको हितविपरीत कोही कसैसँग झुक्नु हुन्न भन्ने धारणा राख्ने अनुभवि पाको नेताको छवि बनाएकाले नै कांग्रेस नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको उनले बताए।

आफू प्रधानमन्त्री भएका बेला केही शक्ति हौसिएर संविधानले नचिनेको नारा लगाएको समेत उनले बताए। गत फागुन ७ गते प्रजातन्त्र दिवसका दिन संविधानले नचिनेका नारा लागेको भन्दै त्यसप्रति आपत्ति जनाए।

गणतान्त्रिक नेपालको संसदले सर्वसम्मत रुपमा पारित गरेको संविधानले राजामहाराजालाई ठाउँ नदिएको भन्दै राजा आउनु पर्ने नारा लाग्नु आपत्तिजनक रहेको बताए।

महेन्द्रनारायण निधिको १०१ औँ जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा उनले बताए। लोकतन्त्रलाई सुदृढ गर्न र जनताको आकांक्षालाई सम्बोधन गर्दा स्वभाविक कोर्ष के हुन सक्छ भनेर सोच्दा १२ बुँदे शान्ति सम्झौताका सहयात्री दलहरु मिलेर अघि बढे मात्रै देशलाई स्थायित्व तथा विकास र समृद्धि दिन सकिन्छ भन्ने लागेको उनले बताए।

गणतन्त्र र संघीयतालाई आत्मसात गर्न नसक्ने दलहरुसँग सहकार्य गर्दा धेरै अप्ठ्यारा आएको आफूले २ महिनामै भोगेको पनि उनले बताए ।

नेपालको अर्थतन्त्रमा केही महिनादेखि सुधारका संकेत देखिए पनि अर्थतन्त्र पुरै सुधार हुन नसकेको समेत उनको भनाइ छ।