संसदीय दल कार्यसमितिसँग धुम्बाराहीमा देउवा छलफल गर्दै

फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं संसदीय दल नेता शेरबहादुर देउवाले धुम्बाराहीस्थित निवासमा पार्टीको संसदीय दल कार्यसमितिमा रहेका सदस्यहरूसँग छलफल गरेका छन्।

सभापति देउवाले प्रतिनिधि सभा र राष्ट्रिय सभा संसदीय दल कार्यसमितिमा रहेकाहरूसँग समसामयिक राजनीतिक घटनाक्रम र अब कसरी अघि बढ्ने भन्नेलगायत विषयमा बुधबार बिहान कुराकानी गरेका हुन्।छलफलमा महामन्त्री, प्रतिनिधि सभा र राष्ट्रिय सभाका प्रमुख सचेतकलगायत उपस्थित छन्।

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरेका छन्।

सरकारमा सहभागिता र विश्वासको मत तथा राष्ट्रपति निर्वाचनलगायत विषयमा सभापति देउवाले संसदीय दल कार्यसमिति बैठकमा छलफल गरेको एक नेताले जानकारी दिए।

फागुन १३ मा राष्ट्रपतिमा रामचन्द्र पौडेललाई ८ दलले समर्थन गरेर मनोनयन गर्दा वर्तमान सरकारलाई समस्या पर्ने देखिएमा विश्वासको मत दिनेलगायत सहयोग गर्ने निर्णय कांग्रेसको थियो। सोहीअनुसार अघि बढ्न देउवाले नेताहरूसँग आन्तरिक छलफल गरेका छन्।