माधव नेपाललाई झलनाथ खनालले लगाए यस्तो गम्भीर आरोप,के पार्टी फुट्को संघारमा पुगेकै हो त ?

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालका कारण आफ्नो राष्ट्रपति हुने सम्भावना तुहिएको बताएका छन् ।

‘अहिले पनि संसदमा वामपन्थीको १३६ सिट छ । यतिबेला राष्ट्रपतिमा सबभन्दा राम्रो सम्भावना एकीकृत समाजवादीको थियो ।

तर वामपन्थी नेताहरुको अदूरदर्शिता, अकर्मण्यता, पदलोलुपता र स्वार्थपरकताका कारण त्यो सम्भव भएन । उनीहरु कुनै पनि वामपन्थी नेतालाई राष्ट्रपति बनाउन चाहँदैनथे ।

केही दिनपछि त्यो पुष्टि हुन्छ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै खनालले भने ।

उनले माधव नेपाल पार्टीलाई थाहा नदिईकन राष्ट्रपतिमा रामचन्द्र पौडेलको प्रस्तावक बसेको आरोप पनि लगाए । खनालले थपे, ‘म पदप्राप्तिका लागि लबिङ गर्ने मान्छे होइन ।

मलाई बनाऊ भन्दै हिँड्ने कुरा आएन । पार्टीले मेरो आवश्यकता महसुस गरेको भए एउटा कुरा हुन्थ्यो । पार्टीले नै नचाहेपछि अरुसँग कुरा गर्नुको औचित्य थिएन ।

हाम्रो पार्टी अध्यक्ष नै रामचन्द्र पौडेलको प्रस्तावक बसिसक्नुभएको रहेछ । पार्टीलाई थाहापत्तो भएन । हाम्रो पार्टीले प्रस्ताव गरेको भए म राष्ट्रपति हुने ८० प्रतिशत सम्भावना थियो ।’

देश निर्माणको भिजन नभएपछि नेताहरु पद पाउने, गुट उपगुट खोल्ने र गठबन्धन बनाउने लुछाचुँडीमा लाग्ने पनि उनले औंल्याए । खनालले भने, ‘राष्ट्रपति हुन्छु भन्दै नेताहरू मुखमा र्‍याल काढेर ओर्लिए । यो बडा अनौठो छ । त्यसको अलिअलि लक्षण देखिसकेपछि म बंगलादेशतिर लागेको थिएँ ।

माधव नेपाल चाहेको भए कि उहाँ आफैं बन्नुहुन्थ्यो कि मलाई बनाउन लाग्नुहुन्थ्यो । उहाँ मलाई राष्ट्रपति बनाउन चाहनुहुन्थेन भन्ने घटनाक्रमले सिद्ध गरेर लगेको छ ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा माधव नेपालको नाम अघि नसारेको पनि खनालको दाबी छ।

उनले भने, ‘माधव नेपाल र खड्ग ओलीबीच चार घन्टा के के कुरा भयो, माधव नेपालले रिपोर्ट गर्नुभएको छैन ।

ओलीले पार्टी मिलाऊँ भन्नुभयो तर राष्ट्रपतिको प्रस्ताव आउँदै आएन भन्नुभयो माधव नेपालले । प्रस्ताव आएको थियो भने हाम्रो पार्टीसम्म किन आएन ?

कि माधव नेपालबाट आउनुपर्थ्र्यो कि पार्टीमै आउनुपर्थ्र्यो । त्यस्तो प्रस्ताव आएको जस्तो लागेन । प्रोपगन्डा मात्र हुन पनि सक्छ । यसबारे केपी ओलीलाई सोध्न बाँकी छ ।