प्रहरी उच्च अधिकारीका श्रीमती नै मिटरब्याजी धन्दामा,न्याय खोज्न काँहा जाने भन्दै पीडित गर्छन् गुनासो?

काठमाडौं। नेपाल प्रहरी श्रीमती संघमा आवद्ध रहेका प्रहरीका उच्च अधिकारीहरुका श्रीमतीहरुले मिटरब्याजी धन्दा चलाउँदै मालामाल बनेका छन्।  

श्रीमती संघमा आवद्ध रहेका नेपाल प्रहरीका उच्च अधिकारीका श्रीमतीहरुले आफ्नो श्रीमानकाे पोष्टिङ राम्रो ठाउँमा भएको फाइदा उठाउँदै मिटरब्याजमा मोटो रकम लगानी गरी ऋणीहरुलाई घर न घाटको बनाउँदै आएको बुझिन आएको छ।

ऋणिहरुसँग मासिक प्रति लाख १० हजारदेखि ३० हजारसम्म असुली गरेको नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरुले ऋण दिँदा ऋणको धितोबापत अग्रिम ब्याज कटाई चेक लिने गरेको र ऋणीले समयमा ऋण तिर्न नसकेको अवस्थामा ऋणीबाट प्राप्त गरेको चेक बाउन्स गर्नाका साथै बैंकमा समेत कालोसुचिमा राख्ने गरेको पाइएको छ।

त्यतिमात्र नभई ऋण उठाउन आफ्नो श्रीमानकाे पावर देखाउँदै प्रहरी कार्यालयमै लगी थुनाउनेदेखि लिएर मानसिक तनावसमेत दिने गरेको एक ऋणीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा बताए।

ऋण लगानी गर्नेहरुमा पूर्व डीआईजीदेखि लिएर बहालवाला डीएसपी, एसपी, एसएसपी र डिआईजीसम्मका उच्च प्रहरी अधिकारीका श्रीमतीहरु रहेको ऋणीले जानकारी गराए।

नेपाल प्रहरी श्रीमती संघमा आवद्ध पदाधिकारीहरुसमेत यस्तो धन्दा चलाउन थालेपछि नियमन निकायमा भएका प्रहरीका उच्च अधिकारीहरुलाई नै अप्ठ्यारो पर्ने अवस्था आएको छ भने ऋणीहरु न्याय खोज्न प्रहरीकोमा जानुपर्नेमा उल्टै प्रहरीकै श्रीमतीले त्यस्तो धन्दा चलाएपछि अब न्याय खोज्न कहाँ जाने भन्दै गुनासो पोख्ने गरेका छन्।