निवर्तमान राष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा फर्किने संकेत,यस्ता दिइन् ५ आधार

काठमाडौं। सात वर्ष राष्ट्रपतिको भूमिका निर्वाह गरेर विद्यादेवी भण्डारी फागुन २९ गते निवृत्त भए पनि उनी अब निष्क्रिय भएर बस्नेछन् भन्ने धेरैलाई लागेको छैन।

फेरि पनि पार्टी राजनीतिमै फर्किनेछन् र देशको कार्यकारी पदमा पुग्न हर प्रयास गर्नेछन् भन्नेमा राजनीतिमा चासो राख्ने उल्लेख्य पंक्तिले विश्वास गरिरहेको छ।

यो विश्वास आधारहीन छैन। शीतलनिवासमा छँदा उनले प्रदर्शन गरेका व्यवहार र पार्टीभित्रको अवस्थालाई नजिकबाट नियालिरहेकाहरुले भण्डारीको कार्यकारी सक्रियता चाँडै नै देख्न पाइनेछ भनेर प्रस्ट आधारहरु देखेका छन्।

भण्डारी पार्टी राजनीतिमा सक्रिय हुन सक्ने मुख्य ५ आधार यसप्रकार छन्–

१-उत्तराधिकारीविहीन ओली

हत्पत्ति अरू कसैलाई विश्वास नगर्ने र अरुमाथि आफै हाबी हुन खोज्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र उत्तराधिकारी तयार नै गरेका छैनन्।

अहिले पदाधिकारीको पंक्तिमा रहेका कसैलाई पनि उनले भावी पार्टी प्रमुख देखिरहेका छैनन् ।

महासचिव शंकर पोखरेललाई उत्तराधिकारीका रुपमा अघि सार्न खोजेका हुन् कि भन्ने यदाकदा देखिए पनि आफ्नै क्षेत्रमा चुनाव जित्न नसक्ने भनेर भइरहने टीकाटिप्पणीले ओलीको आकांक्षालाई धक्का पुर्‍याइरहेको छ ।

माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता बाहिरिसकेपछि एमालेको केन्द्रीय नेतृत्व तहमा ओली गुट मात्र बाँकी छ ।

पछिल्लो चुनावी पराजय र सरकारमा हुँदा विवादका शृंखलाका कारण ईश्वर पोखरेल लगभग उपयोगिताशून्य भइसकेका छन् ।

संगठनमा पनि विशेष पकड र आकर्षण नभएका नेतामा पर्छन् उनी ।भीम रावल एमालेमा हुनु र नहुनुको अर्थ हुन छाडिसक्यो ।

सुरेन्द्र पाण्डेको स्वतन्त्र व्यक्तित्व भए पनि ओली गुटले उनलाई पार्टी नै सुम्पने उदारता र हार्दिकता देखाउन मुस्किल छ ।

वामदेव गौतम पाखा लाग्नु काउसो पन्साउनुसरह भएको छ ।

योसँगै एमालेमा ओलीपछि नेतृत्वमा को आउला भन्ने प्रश्न झन् ताजा भएर आएको छ ।

नेतृत्व संकटको यो अवस्थामा ओलीले भण्डारीलाई अघि सार्ने सम्भावना प्रबल देखिएको छ ।

२- शीतलनिवासको सक्रियता

राष्ट्रपति निर्वाचित भएर शीतल निवास प्रवेश गरेपछि भण्डारीले पार्टी सदस्यता त त्यागिन् तर पार्टी राजनीतिबाट आफूलाई अलग्याउन सकिनन् ।

उनले राजनीतिक अभीष्ट राखेर नै धेरै विवादित कदम पनि चालिन् ।

ओलीका हरेक सिफारिस तत्कालै सदर गर्नेदेखि नागरिकता तथा अन्य विधेयकहरु जारी नगरी रोकेर राख्ने उनको निर्णयका पछाडि जनमत विभाजित तुल्याउनु र भविष्यका निम्ति आफूलाई राजनीतिमा स्पेस बनाउनु नै थियो भन्दा अन्यथा हुँदैन ।

३- एमालेभित्रको समीकरण

राष्ट्रपतिको भूमिकामा हुँदा भण्डारीको प्रभाव पार्टीमा पनि अविच्छिन्न रह्यो ।

उनकै निकटता र सक्रियताका आधारमा पार्टी र राजकीय जिम्मेवारी प्राप्त गर्ने प्रशस्तै नेता छन् ।

अहिले पनि उनकै चाहनाअनुसार सक्रिय राजनीतिमा फर्कनुपर्ने भन्दै निम्तो दिने पंक्ति बढ्दै गएको छ ।

ईश्वर पोखरेल, शंकर पोखरेल, गोकुल बाँस्कोटा, पद्मा अर्याल, गुरु बराल, काशीनाथ अधिकारी, भानुभक्त ढकाल, शेरधन राई, हिक्मत कार्कीलगायत भण्डारीको खास मण्डलीमा छन् ।

भविष्यमा शंकर पोखरेललाई नेतृत्व सुम्पने र विष्णु पौडेललाई रोक्ने हो भने पनि ओलीपछि अर्को कोही वरिष्ठ र सर्वसम्मत नेता आउनुपर्नेछ ।

किनभने अहिले नै नेतृत्व हस्तान्तरण गर्नुपर्दा विष्णु पौडेलले दाबी गर्न सक्नेछन्।

बीचको इन्टरबलको अवधिका लागि भण्डारीलाई अध्यक्ष बनाउने र त्यसपछि शंकर पोखरेललाई नेतृत्व सुम्पने सुगम बाटो ओलीपंक्तिले खोजेको बुझिन्छ ।

४- पर्याप्त सक्रिय उमेर

शीतलनिवास बसाइँको अवधिमा पूर्णतः स्वास्थ्य आरोग्यता प्राप्त भइसकेको र उमेर पनि तुलनात्मक रुपमा नढल्किसकेको कारण पनि भण्डारी निष्क्रिय बस्ने मनःस्थितिमा छैनन् ।

उनको खास उमेर ५५ देखि ६० को बीचमा छ ।

अझै ५ देखि १० वर्ष सक्रिय राजनीति गर्ने उनको आकांक्षा छ ।

उमेरका कारण पनि निष्क्रिय बस्न नहुने र पार्टीलाई योगदान गर्नुपर्ने भनेर उनकै सहयोगी एवं समर्थकहरु समेत उकासिरहेका छन् ।

५-शक्तिको भोक र मदनको विरासत

शक्ति यस्तो कुरा हो, जति भोग गर्‍यो, उति नै भोक जाग्दै जान्छ । मदन भण्डारीको प्रभाव र आकर्षण चुलीमा पुगेका बेला निधन भयो ।

त्यही खाली सिटका लागि भएको उपनिर्वाचनमा सेतो सारी पहिरिएरै उनी २०५० सालमा मत माग्न हिँडिन् ।

काठमाडौंका जनताले त्यतिखेर सहानुभूतिको मत दिए । त्यसपछि उनी लगातार चुनाव उठिन्।

२०६४ को संविधानसभा निर्वाचनमा धेरै एमाले नेताहरुजस्तै उनले पनि पराजय बेहोरिन् ।

तर शक्तिमा उनको बढोत्तरीको ग्राफ कहिल्यै तल झरेन । यसको कारण थियो– मदनकै विरासत ।

रक्षामन्त्री भइसकेपछि माओवादीसँग बिच्किएको सेनाले उनको राम्रै खाँतिरदारी गर्‍यो ।

त्यसपछि उनको आर्थिक उन्नतिले पनि राम्रै पखेटा फिँजायो ।

उनको आर्थिक साम्राज्य र चामत्कारिक प्रगति हेर्न ज्वाइँ उमेश थापाको व्यापारिक साम्राज्य हेर्नुपर्छ ।

उनले पूर्वदरबारियाको त्रियोग स्कुल किन्दा ढुसी परेका नगदका बोरा बुझाएको प्रसंग अहिले पनि व्यापारिकवृत्तमा चर्चित छ ।

राष्ट्रपति नै भइसकेपछि त भण्डारी सेनाको परमाधिपति नै भइन् ।

शीतलनिवासको ठाँट र रवाफको जुन स्वाद उनले पाएकी छन्, त्यो भुल्न उनलाई निकै सकस पर्नेछ ।

यसकारण पनि उनी फेरि सक्रिय राजनीतिमा आएर कार्यकारी अभ्यास गर्नेछन् ।

उनकै समर्थक एवं सहयोगी नेताहरु यति कुरा खुलेर भन्न कत्ति पनि हिच्किचाएका छैनन् ।