राष्ट्रपति-उपराष्ट्रपतिको निर्वाचनमा साँठगाँठ चल्यो: अध्यक्ष ओली

फाइल तस्वीर

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति-उपराष्ट्रपतिको निर्वाचन लोकतान्त्रिक भन्दा पनि साँठगाँठ प्रणालीमा चलेको आरोप लगाएका छन्।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा उपराष्ट्रपति निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले लोकतान्त्रिक प्रणालीमा हारजित हुनु स्वभाविक भएपनि अहिलेको निर्वाचन नै साँठगाँठ प्रणाली चलेको बताए।

कांग्रेससंगको सहकार्यका विषयमा अहिले नै भन्ने बेला नआएको जिकिर गर्दै ओलीले सहकार्यका विषयका कांग्रेसकै केही नेता त्रसित भएको बताए।

एमाले देश र जनताका लागि काम गर्ने बताउँदै केन्द्र र प्रदेशमा प्रतिपक्षमा बसेर काम गर्दा एमालेको राजनीति थप सशक्त हुने ओलीको भनाइ छ।

अध्यक्ष ओलीले शान्ति प्रक्रियाका बाँकी काम समयमा नै टुङ्गाउनुपर्ने र संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयकमा एमालेले आवश्यक धारणा तय गर्ने बताए।

  अध्यक्ष  ओली र सञ्चारकर्मीहरुबीच रोचक सवाल जवाफ भएको थियाे। शुक्रबार उपराष्ट्रपति निर्वाचनमा मतदानका लागि ओली संसद भवन परिसरमा पुगेका थिए।

मतदान गरेर बाहिरिने क्रममा सञ्चारकर्मीहरुले ओलीलाई प्रधानमन्त्रीले ६ गते विश्वासको मत लिने तयारी गरेका छन्, तपाईँले भनेको जस्तो कांग्रेस र एमालेबीच सहकार्य हुन्छ त भनेर सोधेका थिए ।

ओलीले यसबारे भन्ने बेला नभएकाले केही नभन्ने बताए। बरु ०८४ मा सहकार्य हुनसक्छ भन्ने कांग्रेस महामन्त्री गगन थापाको अभिव्यक्तिबारे टिप्पणी गरे।

अस्ति मैले सहकार्य कहिल्यै हुँदैन भन्ने छैन,त्यस्तो कसम खाएको छैन भनेको थिएँ। एकजना अलिक चर्का कांग्रेसले कति सालपछि प्रतिपक्षमा उहाँसँग भेटघाट हुन्छ भन्नु भएछ,ओलीले भने, प्रतिपक्षमा भेट्न ०८४ साल पर्खिनु पर्छ,अहिले भेट्नु भएको छैन ?