दुइ पौडेल-पौडेलबीच यसरी चल्यो जुहारी: देउवा–माधवले प्रचण्ड बोक्नुको यस्तो छ कारण?

काठमाडौं। आम निर्वाचनको मतपरिणामका आधारमा जारी सदन सबैको चासोमा थियो। आकार खुम्चिएको ठुला दल र नयाँ राजनीतिक दलहरुले प्राप्त गरेको जनमतले संसदीय गतिविधिको प्रभावकारिता शंकामै छ।

शंकाकैबीच सदनको पुरानै पुनरावृत्ति भएको छ। सोमवार सदनमा दल र नेताहरुबीचको जुहारी नियाले पुग्छ। सोमवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतको प्रस्ताव पेश गरेपछि राजनीतिक दल र नेताहरुको बोल्ने क्रम सुरु भयो।

प्रधानमन्त्री बनेपछि आफुले गरेको कामको फेहरिस्ता प्रस्तुत गर्दै विश्वासको मत मागेका प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस सभापति शेरबहादुर देउवा र एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकको विद्यमान चूनौतीको सामना गर्न प्रधानमन्त्रीलाई विश्वास मत दिने बताए।

गठबन्धन क्षणिक, स्वार्थ प्रेरित र अस्थिरता ल्याउने हुनुनहुने तर्कसहित देश र जनताको पक्षमा, संविधानको रक्षा गर्ने र देशमा स्थिरता, अमनचयन, शान्ति र विकासका लागि गठबन्धन केन्द्रीत हुन आवश्यक रहेको कांग्रेस सभापति शेरबहादुर देउवाको भनाई छ।

नेपालको राजनीति तरल अवस्थामा रहेको बताउँदै यति छिटै सरकारको गठन र पुनर्गठन हुने कुरा जनताले नसोचेको एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताए। अहिलेको गठबन्धन पाँच वर्ष टिक्ने अध्यक्ष नेपालको दावी छ।

यसअघि प्रधानमन्त्रीको विश्वासको मत दिनेक्रममा आफै सम्बोधन गरेका एमाले अध्यक्ष ओलीले पार्टी उपाध्यक्ष विष्णु पौडेललाई थमाई दिए।

मन्द मुस्कान सहित रोष्टम पुगेका पौडेलले एकाएक प्रधानमन्त्री प्रचण्डमाथी खनिए। फेरिएको सत्ता समिकरणले सत्ताच्यूत हुनु परेको एमालेको आवेग उपाध्यक्ष पौडेलमार्फत छताछुल्ल बन्यो।

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताउँदै नयाँ सहयात्रामा जानुको कारण सोधे। पौडेलले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन एमाले मात्रै होइन, अन्य राजनीतिक दललाई आग्रह नै गरे, सँगै अर्कोपटक विश्वासको मत कहिले भन्ने प्रश्न गर्दै राष्ट्रिय सहमतिको रोदन एमालेको विषय नभएको तर्क गरे।

एमाले उपाध्यक्ष पौडेलको प्रश्नमा माओवादी नखनिने कुरै भएन। प्रधानमन्त्री प्रचण्डले संसदको पहिलो वैठकमै संसद विघटनको विषय उठेपछि आफु संकटमा परेको दावी गरे। सहमति विपरित संसद विघटनको विषय सदनमा प्रवेश गरेको प्रचण्डको जवाफ थियो भने।

माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेले संसद विघटनलाई बहादुरी ठानेपछि समिकरण फेरेको जवाफ दिए। सदनमा शीर्ष नेताहरुको सम्बोधन सँधै एक अर्कालाई खुल्याउने आफु चोखिने शृङखला पुरानो हो।

अरुलाई खुल्याउने झोकमा आफै नाङगो नाच नाच्दै आएकोमा सोमवार सत्तापक्ष र प्रतिपक्षका दोस्रो तहका नेताहरुको जुहारीले वर्चश्व पाएको छ। सदनको शैली फेरिने कुनै छाँटकाँट समेत छैन। यो प्रवृत्ति थप मौलाउने पक्का छ।