सुदूरपश्चिममा बढ्दै कोरोना संक्रमण: २४ घण्टामा ७ जनामा देखियो

काठमाडौं। सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा सात जनामा कोरोना भइरसको सङ्क्रमण देखिएको छ। स्वास्थ्य निर्देशनालय दिपायलले गौरीफन्टा नाकाबाट भित्रिनेहरूको नमूना परीक्षण गर्दा सात जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको जनाएको छ।

यो नाकाबाट पछिल्लो २४ घण्टामा तीनसय नागरिक भित्रिएकामा शङ्कास्पद एकसय १६ जनाको एन्टिजेन विधिबाट नमूना परीक्षण गरिएको जनाइएको छ।

सुदूरपश्चिमका गौरीफन्टा नाकाबाट तीन सय, गड्डाचौकी नाकाबाट दुई सय २०, जुलाघाट नाकाबाट ५५ र पुलघाट (दार्चुला) नाकाबाट २५ नागरिक भित्रिएको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ। नाकाबाट भित्रिनेमध्ये तीन सय ३३ को नमूना परीक्षण गरिएको थियो।

सीमा नाकामा सञ्चालनमा रहेका ‘हेल्थ डेस्क’ मार्फत नेपाल भित्रिनेहरूको एन्टिजेन विधिबाट कोरोना भाइरसको नमूना जाँच गर्ने गरिएको छ।

प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण दर केही महिनायता शून्य रहेकोमा पछिल्ला केही दिनदेखि सङ्क्रमण पुनः देखिन थालेको छ । कोरोनाको सङ्क्रमण दर केही बढे पनि रोगले हुने मृत्यु दर भने शून्य छ।

निर्देशनालयका कोभिड सम्पर्क व्यक्ति हेमराज जोशीले भारतमा कोरोनाको सङ्क्रमण दर बढेसँगै नेपालमा पनि सङ्क्रमण देखिन थालेको बताए।

सम्बन्धित स्थानीय निकायसँग समन्वय गरेर सङ्क्रमितलाई एक हप्तासम्म आइसोलेसनमा राख्न सल्लाह दिएर पठाउने गरेका छौँ”, उनले भने।

रोगको रोकथामका लागि सबै जिल्लामा कोरोना भाइरस विरुद्धको बुस्टर डोज९खोपको मात्रा स्वास्थ्य संस्था मार्फत लगाउन थालिएको छ।

सरकारले कोभिड—१९ विरुद्धको पूर्ण मात्राको खोप लगाएको तीन महिना पूरा भएका र पहिलो बुस्टर खोप लगाउन छुटेका व्यक्तिलाई पहिलो मात्रा बुस्टर खोप र यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको छ महिना पूरा भएका व्यक्तिलाई दोस्रो बुस्टर मात्रा खोप दिन लागिएको जनाएको छ।

स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्षमाथिका दीर्घ रोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका र ५५ वर्षमाथिका सबै नागरिकलाई बुस्टर खोप लगाउन मिल्ने जनाइएको छ।

कोरोनाको सङ्क्रमण भएकाहरूले सङ्क्रमणमुक्त भएको एक महिनापछि यो बुस्टर डोज लिन मिल्ने जनाइएको छ।

कोरोना भाइरसको समस्या देखिएयता हालसम्म सुदूरपश्चिममा छ लाख ४१ हजार आठसय ४४ को नमूना परीक्षण भइसकेको छ। यीमध्ये ६१ हजार नौ सय चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।