लाओसमाथि नेपालको शानदार जित

काठमाडौं । प्रधानमन्त्री थ्रि नेसन्स कप फुटबल प्रतियोगिताको पहिलो खेलमा लाओसमाथी २(० गोलको नतिजामा जित निकाल्दै नेपालले शानदार सुरुआत गरेको छ।

दशरथ रंगशालामा सन्पन्न खेलमा नेपाललाई जित दिलाउन अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गरे। खेलको ३०औं मिनेटमा अनन्त तामाङको गोलमा नेपालले अग्रता लिएको थियो । नविन लामाको कर्नरमा अनन्तले हेडरमार्फत सुन्दर गोल गरेका थिए।

पहिलो हाफमा पाउना टिममाथि निरन्तर दवाव बनाएको नेपालका लागि ५६औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । नवयुगले करिब ३५ यार्डबाट प्रहार गरेको बल सिधै गोलमा परिणत भएको थियो।

त्यअघि, पनि नेपालले गोल गर्ने थुपै्रअवसर शृजना गरेपनि फिनिसिङमा चुकेको थियो । खेलको पाँचौं मिनेटमा आयुष घलानले लेफ्ट फ्ल्याङकबाट दिएको क्रशमा अनमार्क्ड रहेका नवयूग श्रेष्ठ हेडर कनेक्ट गर्न चुक्दा नेपालले अग्रता लिने अवसर खेर फालेको थियो ।

एरिक विष्टले १८औं मिनेटमा दिएको क्रसमा पुजन उपरकोटीको प्रहार क्रशबार माथिबाट बाहिरिएको थियो । लाओसका एटी भिङ्खामले २५औं मिनेटमा पेनाल्टि एरिया अगाडीबाट गरेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो ।

लाओसका कप्तान सोकाफोन भिङ्चिङखामले ३५औं मिनेटमा दाँया तर्फबाट गरेको उत्कृष्ट क्रसमा नेपालका डेब्यूट्यान्ट डिफेन्डर शनिस श्रेष्ठले क्लियर गर्दा लाओस बराबरी गोल फर्काउन चुकेको थियो ।

लाओसका बोनपाचन बोड्कोइले ६७औं मिनेटमा गरेको प्रहारमा नेपालका गोलकिपर किरण कुमार लिम्बु बिट भइसकेको अवस्थामा अनन्त तामाङले गोललाइनबाट बल क्लियर गर्दा पाउना टिम अग्रता लिन चुक्यो ।

मनिष डाँगीले ७२औं मिनेटमा दिएको क्रसमा नवयुग श्रेष्ठले मिलाइदिएको बलमा आयुष घलानको फितलो प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो ।
त्यसपछि पनि खेलको निर्धारित समयसम्म गोल गर्ने थुपै्र अवसर बनाएपनि नेपालले थप गोल गर्न सकेन ।