वैशाख १८ गतेदेखि चीनतर्फका सबै नाका खुल्ने

काठमाडौं। लामो समयदेखि बन्द रहेका चीनतर्फका उत्तरी नाका आगामी वैशाख महिनादेखि सबै खुला हुने भएका छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच हालै चीनमा भएको भेटका क्रममा (मे १) वैशाख १८ गतेदेखि चीनतर्फका सबै नाका खुला हुने सहमति भएको हो।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा। नारायणप्रसाद रेग्मीले (मे १) देखि चीनतर्फ व्यापारिक र सिजनल सबै नाका खुला हुने जानकारी दिए।

भूकम्पपछि बन्द भएको सिन्धुपाल्चोकको कोदारी नाका र हुम्लाको यारी नाकालगायतका अन्य सबै नाका खुलाउने सहमति भएको प्रवक्ता रेग्मीले जानकारी दिए। चीनतर्फका नाकाहरूमा मुस्ताङको कोरला, सङ्खुवासभाको किमाथाङ्का, ताप्लेजुङको ओलाङ्चुङ्गोला रहेका छन्।

मुगुको न्याङ्चे, दार्चुुलाको व्यास, गोरखाको चुुम्नी र डोल्पाको उत्तरी नाकासमेत खुला हुने मन्त्रालयले जनाएको छ। चीनतर्फका व्यापारिक नाका रसुवाको केरुङ, कोदारी र यारी रहेका हुन्। केरुङ र कोदारी नाकाबाट सामान आयात निर्यात धेरै हुने गर्छ। हुम्लाको यारी नाकाबाट समेत सामानको आयात हुने गर्छ।

रसुवाको केरुङ नाका शनिबार खुला भएको छ । रसुवाको केरुङ नाका गत जनवरी पहिलो सातादेखि अर्थात् पुस १२ गते एकतर्फी रूपमा मात्र खुला भएको थियो।